Logo

लकडाउन चाँडै सकिँदैन: प्रधानमन्त्री



Spread the love

२९ चैत, काठमाडौं । नेपालमा लकडाउन अझै अन्त्य नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारका अनुसार आज प्रधानमन्त्रीसहित सबै प्रदेशका मुख्यमन्त्रीहरूसँगको वार्तामा लकडाउन अन्त्य नभइ अझै प्रभावकारी बनाउनु पर्ने विषयमा छलफल भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् । कोरोनाविरुद्ध सरकारले देशभर लककडाउन गरेको अवस्थामा प्रदेश र स्थानीय सरकारले गरेका कामका विषयमा शनिबार भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री ओलीले विहान साढे ११ देखि पौने चार बजेसम्म सिंहदरबारबाट मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेका थिए । कुराकानीका क्रममा उनले लकडाउन तत्काल अन्त्य नहुने समेत बताएका छन् । संक्रमण फैलिन नदिन सबै सचेत हुनु पर्ने भन्दै उनले छिमेकी मुलुक भारतमा संक्रमणको खतरा बढिरहेकाले लकडाउनको समय लम्बिन सक्ने जानकारी दिए ।

ओलीका प्रेस सल्लाहकारका अनुसार ओलीले भने, “नेपालका सिमानाकामा थप सुरक्षा गर्नुपर्ने भएको छ । लकडाउन चाँडै सकिँदैन ।” यसका साथै प्रधानमन्त्री ओलीले लकडाउनको समयमा सबैलाई अनुशासित र मर्यादित हुन समेत आग्रह गरेका छन् । प्रेस सल्लाहकारका अनुसार ओलीले सबै स्वयम्सेवकहरूलाई इमान्दारीका साथ काम गर्न सल्लाह दिएका छन् भने सुरक्षाकर्मीहरुलाई कुनै पनि किसिमका मानिसहरुलाई जम्मा हुन नदिन र थप कडाई गर्न आदेश दिएका छन्।

ओलीले नागरिकहरूलाई सामाजिक दूरी नियमहरू पालना गर्न र कुनै पनि किसिमको भ्रामक समाचारहरूको पछि नलाग्न सल्लाह दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्