Logo

क्वारेन्टाइनमा राखियो, तर स्वास्थ्य परीक्षण भएन



Spread the love

२० चैत, सुरुङ्गा – क्वारेन्टाइनमा राखिएको ९ दिन वितिसक्दा पनि एक युवकको स्वास्थ्य परीक्षण हुन सकेको छैन ।

कोरोना भाइरसबाट सङ्क्रमित भएकी युवतीसंगै नेपाल आएका बाह्रदशी गाउँपालिका–१ खयरवारीका एक युवकलाई क्वारेन्टाइनमा राखेको ९ दिन बितिसक्दा पनि उनको स्वास्थ्य परीक्षण हुन नसकेको हो ।

कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीसंगै ती युवक पनि नेपाल आएका थिए । उनलाई चैत ११ गतेदेखि बाह्रदशी गाउँपालिका–३ राजगढमा गाउँपालिकाले तयार गरेको एस्तार हस्पिटल एण्ड रिसर्च सेन्टरको क्वारेन्टाइनमा राखिएको छ । उनलाई कोरोना भाइरसको सङ्क्रमण भए नभएको अहिलेसम्म ‘स्वव’ परीक्षण गर्न नसकिएको बाह्रदशी गाउँपालिका—२ का जनप्रतिनिधि प्रेम घिमिरेले बताए ।

“यस सम्बन्धमा पटक÷पटक जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तल र प्रमुख जिल्ला अधिकारी उदयवहादुर रानालाई जानकारी गराएका छौं । तर अहिलेसम्म सुनुवाइ हुन सकेको छैन्”, घिमिरेले भने, “स्वास्थ्य परीक्षण नगरी राख्ने हो भने क्वारेन्टाइनमा ल्याएर राख्नुको कुनै अर्थ नै रहेन, घरमै छुट्टै राखेको भए भइहाल्थ्यो नि ।”

क्वारेन्टाइनमा उनीसंगै अहिले ४ जना रहेका छन् । चारै जनाको अहिलेसम्म स्वास्थ्य परीक्षण हुन नसकेको बताइएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख पोर्तेलले क्वारेन्टाइनमा राखिएका सबै मानिसको स्वास्थ्य परीक्षण गर्न सम्भव नहुने र जसजसलाई कोरोनाको लक्षण देखा परेको छ, उनीहरुलाई मात्रै आइसोलेशनमा राखेर स्वास्थ्य परीक्षण गर्ने बताए ।

–––

प्रतिक्रिया दिनुहोस्