Logo

चीनबाट ल्याइएका मेडिकल सामग्री सात वटै प्रदेशमा पठाइँदै



Spread the love

१६ चैत, काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजमार्फत चीनको ग्वाङजाओबाट मेडिकल सामग्री आइतबार नेपाल ल्याइएको थियो । औषधि उपचारजन्य सामग्री लिन निगमको वाइडबडी जहाज शनिबार दिउँसो ग्वाङ्जाओ गएको थियो ।

चीनबाट कोरोना भाइरस परीक्षण र उपचारमा प्रयोग हुने साढे १२ टन मेडिकल सामग्री आइतबार काठमाडौँ ल्याइएको हो ।

वाइडबडी जहाजले कोभिड–१९ परीक्षण गर्ने किट र पिपीइलगायतका औषधिजन्य सामग्री ल्याएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अत्यावश्यक औषधि र अन्य मेडिकल उपकरण ल्याइएको जानकारी दिए । एक लाख पिपीई, ५० हजार कोभिड परीक्षण किट तथा व्यक्तिगत सुरक्षा उपकरण ल्याइएको छ ।

मेडिकल सामग्री सात वटै प्रदेशमा वितरण गरिने भएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल आइपुगेको र धरानबाट कोरोना भाइरसको नमुना परीक्षण सुरु भएको जानकारी दिएका छन् । उनले छिट्टै अन्यत्र पनि विस्तार गरिने जानकारी दिँदै सीमा होलान्, विकसित देशलाई समेत हम्मेहम्मे परिरहेको महामारीविरुद्ध सरकार सम्पूर्ण रूपमा शक्तिका साथ लागेको बताए । भने, ‘विनम्र अनुरोध छ, अहोरात्र खटिइरहेकालाई साथ दिनुहोस्, हौसला दिनुहोस् ।’

निगमका अपरेशन विभाग प्रमुख दीपु जुहार्चनका अनुसार ग्वाङ्जाओबाट करिब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको छ । उनले देश लकडाउनको अवस्थामा शनिबार निगमले बिहानदेखि लुक्लामा अलपत्र ७० विदेशी पर्यटकको उद्धार, नेपालगञ्जबाट कोभिड–१९ का स्वाब नमूना ल्याई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण र चीनको ग्वाङ्जाओबाट लगभग १३ हजार केजी स्वास्थ्य सामग्री एयरलिफ्ट गरी काठमाडौँ ल्याएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्