Logo

भित्री शहरमा कामपाले छर्कियो कीटनाशक औषधि



Spread the love

१२ चैत , काठमाडौंँ – विश्वभर फैलिएको कोभिड–१९ को नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले मानिसको अत्यधिक भीडभाड हुने स्थानमा भित्री स्थानमा कीटनाशक औषधि छर्कन थालेको छ ।


लकडाउन अवधिमा अत्यावश्यक सेवालाई निरन्तर प्रवाह गरिरहेको कामपाले आजदेखि महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा कोरोना भाइरसको सङ्क्रमणलाई महानगर क्षेत्रभित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार मानिसको भीड बढी हुने स्थान वीर अस्पताल, असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, कालीमाटी तरकारी बजारलगायत स्थानमा आजदेखि कीटनाशक औषधी छर्कने कार्यको शुरुआत भएको हो ।


कामपाले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीन ट्याङ्करमार्फत कीटनाशक औषधि छर्किन शुरु गरेको र आवश्यकतानुसार थप गर्न सकिने प्रमुख शाक्यले जानकारी दिए । लकडाउनको अवधिभर महानगरवासीलाई खाद्यान्नको समस्या हुन नदिन स्थानीय प्रशासनसँग सहकार्य गरेर अघि बढ्ने पनि उनले बताए । “यो विश्वव्यापी सङ्क्रमणको बेला हो । त्यसैले सबैले आआफ्नो ठाउँबाट सक्दो प्रयास गर्नुपर्छ”, उनले भने, “कोही भोको पर्दैन, कोही भोकले मर्दैन’ भन्ने राज्यले अघि सारेको अभियानलाई समेत आत्मसात् गर्दै हामी निरन्तर लागिरहन्छौँ । यसको लागि सबैले सहयोग गर्नुपर्छ ।”


प्रतिक्रिया दिनुहोस्