Logo

तेस्रो देशबाट फर्किएकालाई १४ दिन क्वारेन्टाइनमा



Spread the love

१२ चैत, दैलेख – जहान परिवार पाल्नका लागि भारत गएका स्थानीयबासी धमाधम घर फर्किन थालेपछि दैलेखमा ‘कोभिड –१९’ को जोखिम बढ्दै गएको छ । छिमेकी राष्ट्र वा तेस्रो मुलुकमा समेत कोरोना भाइरसले मानिसको मृत्यु भएकाले त्यहाँबाट घर फर्किनेमा पनि कोभिड –१९ हुन सक्ने आशङ्काले जोखिम बढेको हो ।


सङ्क्रमण फैलिन नदिन भारतबाट घर फर्किएकालाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए । गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाको अध्यक्षतामा सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । उनले भने, “भारतबाट आउनेलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने र स्वास्थ्य जाँचपछि मात्रै घर जान दिने निर्णय भएको छ । भारत तथा तेस्रो मुलुकबाट गाउँपालिकामा आउने स्थानीय नागरिक तथा विदेशी नागरिकलाई स्वास्थ्य जाँचका लागि राख्न पञ्चदेवल मावि रावतकोट र गौरी मावि बाँलेकाँडामा क्वारेन्टाइन निर्माण गर्ने तयारी गरिएको छ ।

त्यसैगरी गाउँपालिकाले कोभिड–१९को सङ्क्रमण भित्रिन नदिन भारतलगायत तेस्रो मुलुकबाट गाउँपालिका भित्रिने नागरिकको स्वास्थ्य जाँचका लागि गाउँपालिकाअन्तर्गत भीरखेत र चगत्रा बजारमा ‘हेल्थ डेक्स’ सञ्चालन गर्ने भएको छ । तेस्रो मुलुकबाट गाउँपालिकामा आउनेको नाम, ठेगाना, आएको स्थानलगायतको विवरण वडा सचिवमार्फत सङ्कलन गरिने गाउँपालिकाले जनाएको छ । सङ्क्रमणबाट बच्न व्यक्तिगत सरसफाइ, खानपान तथा व्यायामका विषयमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हीरासिंह थापाले बताए । गाउँपालिकाले गाउँपालिकाभित्र सामाजिक परम्पराअनुसार गरिने विवाह, ब्रतबन्ध, पास्नी, जन्मोत्सव जस्ता कार्य गरी भेला तथा जमघट गर्न बन्देज लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्