भदौ २३ ,काठमाडौँ -सल्लेरी खबर
सप्तरी, हनुमान नगर कंकालिनी नगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवार बनेका माधव कुमार गुप्ता कान्छो उम्मेदवार पनि हुन् । कुनै पार्टीसँग आबद्ध नभई स्वतन्त्र उम्मेदवारी दिएका २२ वर्षीय युवा गुप्ताले स्मार्ट सिटी हैन स्थानीयबासीहरुको सोच बदल्न आफूले उम्मेदवारी दिएको बताउँछन् । ०५२ सालमा जन्मिएका गुप्ताले बारम्बार एउटै मन्त्र उच्चारण गर्ने गरेका छन्–‘युवा जागरुक नभएसम्म देश असम्भव छ ।’ त्यसका लागि युवाले जोस, जाँगर र अनुभवसँगै देश विकासमा लाग्नुपर्छ । भारतबाट स्नातक उत्तीर्ण गरिसकेका गुप्ताले त्यहाँ अध्ययनका क्रममा युनिभर्सिटी अफ कोलोग्नी, जर्मनीले आयोजना गरेको युवामुखी कार्यक्रममा समेत भाग लिएका थिए । विभिन्न २५ राष्ट्रका युवाहरू सम्मिलित उक्त बैंठकमा उनी पनि एक थिए ।
हालसम्म उनले पाँच युरोपेली मुलुकका युवामुखी कार्यक्रममा भाग लिएर आफ्नो विचार सम्प्रेषण गरेका छन् । उनी अध्ययन, अनुभव र ऊर्जालाई सँगै डोर्याउन सक्नु नै महान् कुरा रहेको बताउँछन् । ‘सोच बदलु–नगर अपने बदलतै’ घोषणापत्रमा मार्फत आम युवा वर्गलाई उनले आह्वान गरेका छन् ।
‘झन्डै २० वर्षसम्म कुइराको कागझै बनेको स्थानीय सरकारले गन्तव्य पहिल्याउँदैछ । सबैले पुराना विचार, शैली, चिन्तन र व्यवहार भएका व्यक्तिलाई नै पटक पटक निर्वाचनमा जिताउने गरेका छौँ । अब, यसको जरो उखेलिनुपर्छ अनि मात्र देश विकास सम्भव छ ।’ उनी भन्छन् । युवा राजनीतिकर्मी उमानन्द रजकको नेतृत्वमा रहेको जन जागरण अभियानमार्फत सक्रिय रूपमा राजनीति थालनी गरे । राजनीतिलाई सही दिशातर्फ उन्मुख गर्नका लागि युवा अपरिहार्य महसुस गरे । त्यसपछि पूर्र्ण रूपमा राजनीतिमा होमिए । ‘चुनावका बेला जनमुखी भाषा छाँट्ने र जितपश्चात् मुख देखाउन गाउँ नपस्ने राजनीतिका कारण देश विकास पछि धकेलिँदै गएको हो ।’ उनी भन्छन् ।
प्रतिबद्धता
मैले अरू जसरी पुरै गाउँ विकास गर्छु भनेर प्रमुख पदमा उम्मेदवारी दिएको होइन । गाउँ विकास गर्नका लागि हामी सबैले सोच बदलौँ गाउँ, आफै बदलिन्छ । विकास भन्ने चिज हाम्रो मस्तिष्कमा छ । त्यसैले मस्तिष्क सफा गर्नु नै पहिलो कर्तव्य हो । विगत २० वर्षदेखि स्थानीय तह अधिकार विहीन छ । राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र हुँदै देश सङ्घीयतामा प्रवेश गरेको छ तर, सबैको चिन्तन पुरानै छ । किनकि त्यहीँ काल खण्डका व्यक्तिहरू नै हाबी भएपछि विकास सम्भव छ भन्न सकिँदैन । त्यसैले पटक पटक गल्ती गरेका उनीहरूलाई फेरि भोट दिँदा एक पटक सोच विचार गर्नुपर्ने छ ।
सबै वडामा पुस्तकालय
कंकालिनी नगरका सबै वडामा पुस्तकालय खोल्ने मेरो पहिलो लक्ष्य रहेको छ । पुस्तकालयले विद्यार्थीको भविष्य तय गर्ने हो । त्यस्तै, नगरपालिकामा एउटा महाविद्यालय स्थापना हुन जरुरी छ । देश सङ्घीयतातर्फ उन्मुख भए पनि नगरका सबै अभिभावकहरुका छोराछोरीहरु उच्च अध्ययनका लागि अन्यत्र कतै जानुपर्ने बाध्यता छ । त्यसो त नगरमा कुनै पनि व्यवस्थित विद्यालय सञ्चालनमा छैनन् । यसका लागि दोस्रो कदम शिक्षामा चालिनुपर्छ । यससँगै गाउँ–गाउँमा कालोपत्रे, पक्की नाला, घरघरमा खानेपानी, सबै वडामा सार्वजनिक शौचालय, बजारको व्यवस्थितिकरण र म्याजिक नगरपालिका बनाउने मेरो लक्ष्य हुनेछ ।
स्वास्थ्य
‘सेवा नै धर्म हो’ । यहाँको सबै भन्दा ठुलो समस्या, स्वास्थ्य नै छ । बिरामीहरु स्वास्थ्यपचोर नपाई अकालमा ज्यान गुमाउनु परेको छ । निःशुल्क स्वास्थ्य दिने सरकारको सेवाले केही प्रभाव पारेको छैन । एक त बिरामीहरुका लागि औषधि उपलब्ध नहुने अर्कातिर बिरामीहरुसँग स्वास्थ्य उपचारका लागि महंगा अस्पतालमा उपचारका लागि लैजाने आर्थिक स्थिति कमजोरी छ । त्यस्तै, अस्पतालमा कार्यरत डाक्टरहरु अशिक्षित र काम चलाउ भएकाले पनि विरामीहरुको रोग पहिचान गर्न नसकिएको अवस्था छ । यस कारण नगरपालिकाको स्वास्थ्य अस्पतालमा एम बि बि एस उत्तीर्ण गरेका शिक्षित चिकित्सक (डाक्टर) को दरबन्दी व्यवस्थित गरिनुपर्छ । नगरमा हरेक महिना घुम्ति स्वास्थ्य सेवा सञ्चालन गरिनुपर्छ ।
घरघरमा इन्टरनेट
विश्व सूचनाको आदान प्रदानका भरमा सञ्चालित छ । त्यसैले सबैले निःशुल्क तथा सहुलियत इन्टरनेटको व्यवस्था, महिला सशक्तिकरण र सुरक्षा, स्मार्ट सिटीका लागि उपयुक्त अध्ययन, कोसी क्षेत्र पर्यटन विस्तार, वृद्धाहरुका लागि बृद्धाभत्ता, दलित बालबालिका भत्ता, छुवाछुट तथा भेदभावको अन्त्य, भूमीहीन भएकाहरुका लागि पुर्नवासको व्यवस्था गरिनेछ ।
वैज्ञानिक कृषि प्रणाली
हाल कंकालिनी नगरपालिकाका ८० प्रतिशत मानिसहरू कृषिमा आत्म निर्भर छन् । तर, उनीहरू पुरानै शैलीमा खेतिपाती गर्ने गरेका छन् । प्रविधिको विकासले फड्को मारेपनि राज्यले किसानहरुका लागि कुनै स्रोत, साधन उपलब्ध गराएको छैन । यसकारण कृषि क्षेत्रमा नयाँ परिवर्तन ल्याउन जरुरी छ । त्यस्तै, नगरपालिकामा शिक्षित इन्जिनियर तथा परीक्षण कक्षा, बाली नाली बिमा, सहुलियत दरमा बीउ बिजन वितरण भएका छैनन् । माछा, मासु, दूध, फलफुल, सागपात तथा तरकारीका लागि व्यवस्थित बजार छैन ।