१३ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली विदेश भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् । पूर्वनिर्धारित कार्यक्रम दुई दिनपछि फर्कने भए पनि उनी शुक्रबार बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् ।
विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भ्रमण पर्सिसम्म तय थियो, आज सर्भियाका राष्ट्रपतिलाई भेट्ने कार्यक्रम थियो, देशभित्रको विकसित परिस्थितिले भ्रमण छोट्याएर आइयो ।’ उनले परिस्थितिबारे भने स्पष्ट खुलाएनन् ।
रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणका निम्ति गत शनिबार अपराह्न उनी रुसको राजधानी मस्को प्रस्थान गरेका थिए । ११ गतेसम्म रुसको तथा १२ र १३ गते सर्भियाको भ्रमण गर्ने तालिका उनको थियो ।
मन्त्री ज्ञवाली शनिबार रूस प्रस्थान गरेका थिए। मस्कोमा उनले रूसी समकक्षी सर्गेई लाभरोभसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। भेटका क्रममा उनले रूसी राष्ट्रपति भ्लादमिर पुटिनलाई नेपाल भ्रमण गर्न निम्तो दिएका थिए।