९ मंसिर, काठमाडौं । सोमबारबाट समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । निजी गाडी चढेर मन्त्रालयमा आएका यादवले पदभार ग्रहण गर्दै प्रधानमन्त्रीले आफूलाई बढी नै माया गरेको बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा यादवको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी खोसेर कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए । सोही जिम्मेवारी ग्रहण गर्दै उनले त्यसलाई आफूले सामान्य रुपमा लिएको बताए ।
प्रधानमन्त्रीले आफूलाई अझ बढी अनुभवी होस्, धेरै मन्त्रालको अनुवभव होस् भनेर अलि बढी नै माया गरेर त्यस मन्त्रालयको जिम्मेवारी दिएको हुन सक्ने पनि मन्त्री यादवको भनाइ रहेको छ ।
यसैबीच, यादवले अझै राम्रोसँग कार्य सम्पादन गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । उनले कुनै पनि समस्या आफूसँग निशंकोच राख्न पनि मातहतका सबै कर्मचारीलाई सचेत गराए । मन्त्रालयमा काम गर्ने क्रममा देखिएका कुनै पनि समस्या समाधानका लागि सचिवमार्फत आफू कहाँ आउँदा उपयुक्त हुने उनको भनाइ थियो ।