१५ असोज, काठमाडौं। च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले इंग्लिस क्लब टोटेनहम हस्टपरललाई फराकिलो अन्तरले पराजित गरेको छ । बायर्नले घरेलु टोटेनहममाथि ७–२ को फराकिलो जित निकालेको हो ।
बायर्नको फराकिलो जितमा सर्जी जिनाब्रीले ह्याट्रिकसहित ४ गोल गरे । रोवर्ट लेवान्डोस्कीले दुई तथा जोसुवा किम्मिचले १ गोल गरे । टोटेनहमका ह्युङ मिन सन र ह्यारी केनले गोल गरे ।
टोटेनहमले सुरुवाती अग्रता जोगाउन नसक्दा लज्जास्पद हार ब्यहोर्न बाध्य भयो । खेलको १२औं मिनेटमा सन हेयुङ मिनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए । तर यो अग्रता धेरैबेर टिकेन । खेलको १५औं मिनेटमा नै किमिचले गोल गरेपछि बायर्नले १-१ गोलको बराबरी बनायो । खेलको ४५औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि पहिलो हाफसम्ममा बायर्नले २-१ गोलले अग्रता बनायो ।
खेलको ५३औं र ५५औं मिनेटमा सर्ज गनाब्रीले गोल गरेपछि बायर्न टोटेनहममाथि ४-१ गोलअन्तरले अग्रता लियो । तर खेलको ६१औं मिनेटमा केनले पेनाल्टीबाट गोल टोटेनहमलाई ४-२ गोलको स्थितिमा ल्याए । यसपछि खेलको ८३औं र ८८औं मिनेटमा गनाब्री र ८७औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि बायर्नले टोटेनहममाथि ७-२ गोलको फराकिलो जित हात पारेको हो ।
जितसँगै समुह ‘बी’ मा बायर्नले ६ अंक जोड्दै शीर्षस्थानमा रहेको छ भने टोटेनहम १ अंकसहित पुछारमा छ ।