Logo

सल्यान को नेतृत्व असक्षम कि केन्द्रको उपेक्षा ?



Spread the love

साउन, ५
तिलक राज भण्डारी
tilal raj bhandari
भौगोलिक बनावट, समाजिक चेतना र आर्थिक उत्पादन प्रणालीको दृष्टिकोणले आफ्नै विशेषता र सीमाहरुले सजिएको सल्यान जिल्लाको विशिष्ट स्थितिलाई राजनैतिक दृष्टिकोण, पहुँच र परिचालनले पनि अभिव्यक्त गर्दछ । भौगोलिक बनावट र जैविक विविधताको दृष्टिकोणले अत्यन्तै उर्वर र उत्पादन योग्य रहेको यस जिल्लामा टुक्रे तथा निर्वाहमूखी उत्पादन प्रणालीले पछौटे र संकिर्ण सामाजिक चेतनाको निर्माण गर्दछ भन्ने यथार्ततालाई पुष्टि गरेको छ । पछौटे र संकिर्ण चेतनालाई अंझ स–साना समूह र व्यक्तिमा विखण्डित गर्ने कार्यमा सहयोगी भूमिका जातीय विविधताले गरेको छ । जसबाट मिश्रीत तथा खिचडी साँस्कृतिको निर्माण मात्रै भएको छैन सामाजिक चेतना र राजनैतिक परिचालनमा समेत अत्यन्तै आंशिक र संकिर्ण दृष्टिकोण निर्माणमा सहयोगी भूमिका खेलिराखेको छ, जसले विकास निर्माणमा समेत प्रत्येक्ष प्रभाव पारिराखेको देखिन्छ । यहाँ उल्लेख गर्न खोजिएको विषय के हो भने टुक्रे र निर्वाहमूखी उत्पादन प्रणाली र जातीय विविधता तथा अन्तरविरोधले राजनैतिक एवं सामाजिक चेतनामा संकिर्णता ल्याउनुका साथै केन्द्रीकृत र प्रभावकारी नेतृत्व निर्माणमा समेत नकारात्मक प्रभाव पारेको हुन्छ ।
सल्यान जिल्लाको सन्दर्भमा पञ्चायतकाल, वहुदलीय तथा संसदीय अवधि, दसवर्षीय जनयुद्ध र त्यसपछिको शान्तिप्रक्रियासम्म आइपुग्दा सल्यानी जनताको अभिमत र त्यसको नेतृत्व गर्ने नेतृत्वपंक्तिसंग केही जिम्मेवारी, केही प्रश्नहरु, केही गुनासाहरु र केही पश्चातापका विषयहरु अध्ययन गर्न आवश्यक छ । समग्रमा भन्ने हो भने सल्यानीहरुको राजनैतिक नेतृत्वको विगत एवं वर्तमानको संक्षिप्त अध्ययन र समीक्षाको साझा निश्कर्षसहित विद्यमान तथा भविश्यको प्रभावकारी एवं हस्तक्षेपकारी नेतृत्व निमार्णका साथै एकीकृत ढंगले क्षमताहरुको परिचालन गर्न आवश्यक देखिन्छ । यद्यपी समग्र सल्यानी जनताको राजनैतिक भूमिका र अभिमत तथा नेतृत्वपंक्तिको कार्यकुशलता लगायतका विषयको वस्तुनिष्ट निष्कर्षको लागि सल्यान जिल्लाको विगत र वर्तमानमा राजनैतिक जनमतको नेतृत्व गर्ने नेतृत्वपंक्तिसंग सल्यानका सचेत नागरिकहरुको प्रतिनिधि, प्राज्ञीक तथा प्राविधिक जनशक्ति सहित सहभागी हुनेगरी बृहत प्रकारको अन्तरक्रिया आवश्यक बन्न जान्छ । जसको माध्यमबाट नेतृत्व र जनसमुदायको हस्तक्षेपकारी तथा प्रभावकारी भूमिका निर्माण एंव विस्तारमा सहयोग पु¥याउन सकियोस् ।
पञ्चायत कालको उत्तरार्धमा राष्ट्रकै नेतृत्व गर्ने अवसर समेत सल्यानले पायो तर भूतपूर्व प्रधानमन्त्रीको जिल्ला हो भनेर पहिचान दिन लायक इतिहास सिवाय विकास निर्माणको कुनै प्रभाव रहेन । प्रचुर संभावना हुदाहुदै पनि प्रधानमन्त्रीको हैसियतले अफ्नो जिल्लाको विकास निर्माण कार्यलाई आफ्नो ऐजेण्डा वनाउन नसक्नुका पछाडी तत्कालिन प्रधानमन्त्री मरिचमान सिंहका अगाडी के कति परिथितिजन्य सीमा र के कति आफ्नै नियतगत तथा कार्यशैलीगत अपुगताहरु थिए ? भन्ने प्रश्नको चित्त वुझ्दो जवाफ पनि सल्यानी जनताले पाएका छैनन् । त्यसैगरी पञ्चायतको अन्त्य र वहुदलीय प्रजातन्त्रको स्थापना पछि एक छत्र राज्य गरेको नेपाली काँग्रेसको पालामा पनि सल्यानी जनताले काँग्रेसको पक्षमा आफ्नो दमदार अभिमत व्यक्त गरे । जुन जनमतको उच्च सम्मान गर्दै विकास निर्माणका कार्यलाई जनतासम्म समानुपातिक र समावेशी चरित्रमा अगाडी बढाउनुका अलावा पञ्चायत प्रतिको प्रतिरोधको भावना र कम्युनिष्ट प्रति जाईलाग्ने प्रवृतिको दादागिरीले पंचायत त फर्किन सकेन तर कम्युनिष्ट विस्तारमा सहयोगी भुमिका निर्वाह ग¥यो । परिणामतः ने.क.पा.(एमाले) को ९ महिने सरकारसम्मको जनमत अभिव्यक्त भयो । जे होस् वहुदलीय व्यवस्थाको काँग्रेसी नेतृत्व विकास निर्माण र जनपरिचालन भन्दा दादागिरी र कम्युनिष्ट माथी प्रतिवन्ध तथा आक्रमणमा बढी केन्द्रित रह्यो । फलस्वरुप तत्कालिन रुपमा पूर्ण नभए पनि शिक्षा राज्य मन्त्री सम्मको नेतृत्व गर्ने अवसर पाउदा समेत केहि कार्यकर्तालाई रोजगारीमा भर्ती गर्नु भन्दा बढी केहि गर्न सकेन । जसले गर्दा सल्यानी जनताको अभिव्यक्त जनमतको सम्मान र विकास निर्माणमा जन सहभागिताको ग्राफ अत्यान्त न्युन रह्यो । त्यतिवेला राजनैतिक पंहुच हुदा–हुदै पनि विकास निर्माणमा सल्यान जिल्ला अगाडी बढ्न नसक्नुका के कति कारण र नियतिले अवरोध पु¥यायो तत्कालिन नेतृत्व प्रति जनताको गुनासो र प्रश्नहरु अहिले पनि यथावत छन् ।
संसदीय व्यवस्था अन्र्तगत एमाले नेतृत्वको पहिलो कम्युनिष्ट सरकारले काँग्रेस भन्दा तुलनात्मक रुपमा जनसहभागितामुलक कार्यक्रम र बजेट सार्वजनिक गरेता पनि वर्गीय पक्षधरतामा पैदा भएको धरमराट तथा कम्युनिष्ट मूल्य मान्यतामा पार्टी र नेतृत्व दृढतापूर्वक अडिन नसक्दा एन.जि.ओ.तथा आई.एन.जि.ओ. को ऐजेरु मौलाउने भन्दा अब्बल कार्य हुन नसक्नुमा के कति कारण र नियति रहन पुगे भन्ने प्रश्नहरु पनि सल्यानी जनताका अगाडी अध्यावधि छदै छन् ।
जनताको जनवादी राज्यसत्ता स्थापनार्थ जनयुद्धको स्थापना र सञ्चालन गर्दै आईराखेको तत्कालिन ने.क.पा.(माओवादी) ले पुरानो सत्ताको नेतृत्वमा रहेका सम्पूर्ण संरचनाहरु ध्वस्त पार्ने कार्यलाई प्राथमिकता दिदै स्थानीय र आधार ईलाका भित्रका क्षेत्रमा केहि स–साना विकास निर्माणका कार्य गर्दै जनयुद्ध कालकै अवस्थामा पनि आफु विध्वंस मात्र नभएर निर्माणको पक्षधर भएको उदाहरणहरु प्रस्तुत गरेको पाईन्छ । तर ती प्रयासहरु ध्वँशको तुलनामा अत्यान्तै न्युन रहन पुगे । रोल्पामा शहीद मार्ग निर्माणले व्यापक जनपरिचालन र प्रभावको दृष्टिकोणले विश्वव्यापी रुपमा स्थापित गर्ने प्रयास गरेता पनि त्यो प्रयास र प्रभावलाई निरन्तरता दिन सकिएन र समग्र मनोविज्ञानलाई केन्द्रित गर्न सकिएन । यद्यपी माओवादीले आफ्नो आधार ईलाकीय क्षेत्रमा सम्पूर्ण सत्ताको अभ्यास सहित सम्पूर्ण संरचनाको अभ्यास ग¥यो र त्यसको सवैभन्दा बढी प्रभावकारी संरचना न्याय सम्पादनमा नै रह्यो । सल्यान जिल्ला पनि तत्कालिन रुपमा माओवादीको केन्द्रीय आधार ईलाका भित्र परेकोले जनपरिचालन र जनसत्ता सञ्चालनको क्षेत्रमा अगाडी नै रह्यो ।
शान्ति प्रक्रियापछि देशभरीको जनमत माओवादीको पक्षमा देखा प¥यो । सवैभन्दा ठूलो पार्टीको रुपमा माओवादी र त्यसको नेतृत्वको पक्षमा जनमत अभिव्यक्त भयो । त्यसपछि युद्ध कालमा केन्द्रीय आधार ईलाका भित्र पर्ने एक जिल्लाको हैसियतले सल्यान जिल्लाले पनि विकास निर्माणको ठूलो अपेक्षा र महत्वकाँक्षा पाल्नु स्वभाविकै थियो । सल्यान जिल्लाको सन्दर्भमा पहिलो संविधान सभाको निर्वाचनमार्फत ४७.६१ प्रतिशत जनमत माओवादीको पक्षमा अभिव्यक्त भयो र दुबै निर्वाचन क्षेत्रमा माओवादी उम्मेदवार शानदार विजय भयो । त्यसपछि राजनैतिक–आर्थिक–सामाजिक क्रान्तिलाई पूर्णता दिने, शान्ति प्रक्रियालाई निश्कर्षमा पु¥याउने र राज्यको पुनर्सरचनासहित नयाँ नेपाल निर्माणको दस्तावेजको रुपमा जनताको संविधान निर्माण गर्ने केन्द्रीय अभिभाराका अतिरिक्त जिल्लाको समग्र विकास निर्माणको नेतृत्व गर्ने शानदार जिम्मेवारी माओवादीको नेतृत्व र सभासदको काँधामा आईपुग्यो । तर माओवादी नेतृत्वको पहिलो सरकारका नीति तथा कार्यक्रम, विकास निर्माण र बजेटका विषयहरुले द्वन्दकालमा भएका मानवीय र भौतिक क्षतिको पूनर्निर्माण तथा पुनर्मिलन र राहतमा बढी केन्द्रित हुनुप¥योे जसको कारणले विगतको निरन्तरतामा स्थानीय निकायमा झण्डै तेव्वर अनुदान विस्तार, कर्मचारीको तलव वृद्धिमा समानुपातिक प्रणाली र विकास निर्माण कार्यमा तिव्रता एवं प्रभावकारी रुपमा अगाडी बढ्दा समेत जनतालाई सन्तुष्ट पार्न सकिएन । विशेषगरी राजनैतिक क्रान्तिलाई पूर्णता दिने मूख्य अभिभारा लिएको यस सरकारले राजनैतिक शन्तुलन कायम गर्न सकेन । यस अवधिमा सल्यान जिल्लामा पनि विकास निर्माणका कार्यले तिव्रता पायो नै मूख्यतः जिल्लाका विभिन्न ईलाका र गा.वि.स.हरु जोड्ने साना–ठूला सडक निर्माण कार्यले प्राथमिकता पायो । त्यसका अतिरिक्त केन्द्र, जिल्ला र स्थानीय स्तरका विकास निर्माणका कार्य शानदार रुपमा सम्पन्न भएता पनि जनतालाई शन्तुष्ट पार्न सकिएन जसको परिणामस्वरुप यूद्धकालमा आधार ईलाकाभित्र परेको जिल्ला सल्यान र जनमत प्राप्त माओवादी नेतृत्वप्रति जनताका केही गुनासा र केही प्रश्नहरु सृजना भएका छन् । ती मध्ये अधिकांश गुनासा र प्रश्नहरुको आशय केन्द्रीय स्तरका विकास निर्माणका योजनाहरु नपर्नु सरकारी कार्यालयमा जनता अनुकूलको वातावरण सृजना गर्न नसक्नु आदी प्रमूख रहेका छन् । यसको भित्रि आशय खोज्ने हो भने सल्यान जिल्लाका माओवादी नेतृत्वको पनि केन्द्रीय स्तरको प्रभावकारी पहुँच स्थापित हुन सकेन भन्ने प्रतिक्रियाहरु प्राज्ञीक तथा शुभचिन्तकहरुबाट अभिव्यक्त भईराखेको छ । यस्तै जिज्ञासा, प्रश्न र गुनासाहरु सल्यान जिल्लाको राजनैतिक पार्टी र नेतृत्वहरु का वरीपरी खेलीरहेका छन् । यसको जवाफ सल्यानमा क्रियाशील तथा कुनै न कुनै समयमा सल्यानी जनताको जनमतको नेतृत्व गरेका नेतृत्वहरुले दिन आवश्यक छ ।
समग्रमा के भन्न सकिन्छ भने कुनै पनि जिल्लाको समग्र विकासको लागि जनताको एकता मार्फत अभिव्यक्त जनमत, राजनैतिक पार्टी र त्यसको नेतृत्वपंक्तिमा संगठनात्मक तथा विचारधारात्मक एकताबाट अभिव्यक्त केन्द्रिकृत नेतृत्व प्रणाली र स्वंम नेतृत्वको व्यक्तिगत नियत र कार्यशैलीले नै निर्धारण गर्दछ । तसर्थ सल्यान जिल्लाको सन्दर्भमा मूख्य तीन पार्टीहरु माओवादी, काग्रेस र एमाले तथा अन्य पार्टीहरुको पनि आ–आफ्नो केन्द्रीय समितिमा प्रतिनिधित्व छ । यद्यपी त्यो प्रतिनिधित्वबाट सल्यानी जनतालाई सन्तुष्ट हुनेगरी प्रभावकारी र हस्तक्षेपकारी पहँुच अभावको अनुभुति सर्वसाधारण सवैले गरिराखेका छन् । त्यसको गंभिरतापूर्वक समीक्षा गर्दै आगामी दिनमा जिल्लाको राजनैतिक पहँुचलाई केन्द्रमा प्रभावकारी र हस्तक्षेपकारी बनाउदै विकास निर्माणमा एकीकृत र साझा पहलकदमीकासाथ अगाडी बढ्न आवश्यक छ र जिल्लाको नेतृत्वपंक्ति तथा कार्यकर्तापंक्तिले पनि आ–आफ्नो नेतृत्वपंक्तिलाई सकारात्मक रुपमा सहयोग गर्न आवश्यक छ । जसले सल्यान जिल्लाको राजनैतिक पहुँच र विकास निर्माणलाई प्रभवाकारी तथा हस्तक्षेपकारी बनाउन सहयोग पुग्नेछ ।
यहाँ छलफल गर्नैपर्ने अर्काे सन्दर्भ के छ भने– सवै राजनीतिक पार्टीहरुमा सल्यान जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेतृत्वहरु भएता पनि २०४६ पश्चात गठन हुने दर्जनौ मन्त्रीमण्डलमा सल्यानबाट प्रतिनिधित्व हुन सकेन । जनताले राजनीतिक परिवर्तन संगसगै कांग्रेस, एमाले, माओवादी लाई उल्लेख्य जनमत दिएकै हो तर उक्त जनमतको नेतृत्व गर्न सल्यानी नेतृत्व सक्षम रहेन कि सल्यान र सल्यानी जनताको जनमतलाई केन्द्रले उपेक्षा गरेको हो ? यो प्रश्नमा केन्द्रित भएर सल्यानको राजनीतिक वृत्तमा पछिल्लो चरणमा गम्भीर छलफल चलिरहेको छ । सल्यान जिल्लाको हरेक पार्टी र खासगरी यूवापुस्तामा राजनीतिक जागरण र नेतृत्वको स्तर परिस्कृत हुदै गईराखेको छ । यद्यपी सल्यानको राजनीतिक पहुँचले केन्द्रमा प्रभावकारी प्रतिनिधित्व गर्न नसक्दा राजनीतिमा भविष्य देख्ने र राजनैतिक रुपमा शक्रिय हुने यूवाहरु विकल्प खोज्ने र राजनीतिबाट पलायन हुने खतरा बढ्दै गईराखेको छ । यो जटिल परिस्थितिका वावजुद पनि हामीले प्रतिस्प्रधामार्फत केन्द्रमा प्रभावकारी प्रतिनिधित्व स्थापित गरेर यो कुरा सावित गर्नैपर्दछ कि सल्यानी नेताहरु सल्यानको जनमतको नेतृत्व गर्न सक्षम छन् । सल्यानको राजनैतिक भविष्य उज्वल छ र सवै यूवा नेतृत्वमा नयाँ प्रतिस्प्रधात्मक शक्रियता आजको आवश्यक्ता हो ।

प्रतिक्रिया दिनुहोस्