Logo



Spread the love

 

पुजनिय बुवा साष्टाङ्ग दण्डवत प्रणाम !

२०७४/0५/0५ गते सोमबार

 

 

हामी सपरिवार पिडा सहित सन्चै छौं ।  हामीले तपाईको मुख नहेरेको पनि पर्सि भदौ ७ गते १७ वर्ष हुँदैछ, आज बुवाकोमुख हेर्ने दिन तपाईको साह्रै संझना आएकोले तपाईलाई यो सानो पत्र लेख्ने प्रयास गर्दैछु ।

 

आज बुवाको मुख हेर्ने दीनको अबसर पारेर छोराले यति धेरैकुरा किन ब्यक्त गर्यो भन्ने तपाईलाई लाग्न सक्छ ,हुन त आज मात्रै तपाईको संझना आएको होईन , हामी परिवार ,समाजले ब्यक्तिगत रुपमा हरपल तपाईको संझना नगरिरहन सक्दैंनौं  । अभिभाबकको अभावमा एउटा पशु त कसरी रुमलिन्छ,त्यस्तै हामी त झन् मान्छे ,ब्यक्तिगत रुपमा साह्रै पिडा र समस्याहरुको बिचमा तपाईको अभावमा बाँचिरहेका छौं । बुवा ! यसरी समस्याहरुको बिचमा जिउँन पाँउनु  पनि एक सौभाग्य नै हुँदोरहेछ । ब्यक्तिगत रुपमा हामी सन्चो विसन्चो भएको तपाईले देख्ने त कुरा भएन तपाई जुन लक्ष्य उद्देश्य सहित आफ्नो प्राणको आहुती दिनुभएको हो ,त्यो लक्ष्य प्राप्तीको बाटो त बिग्रीएको छैन तर बाटोमा हिड्ने यात्रीहरुको बिचमा बेमेल ,असमझदारी,असन्तुष्टी उत्पन्न भई एउटा सिंगोपरिवार टुक्रा टुक्रा भएको परिस्थिति श्रृजना भएको छ । यस्तो स्थिति श्रृजना हुँदा झनै पिडा थपिदो रैछ ।  हामी टुहुरा बालबालिका र परिवारजनको अवस्थामा सुधार र परिवर्तन गर्नेकाममा तपाईको साथीहरुको हिच्किचाहट अझैं जीवित छ । तपाई जस्तै हजारौं बुवाका सन्तानहरु कोही खाडीमुलुक,कोही फरक बाटोमा हिडरहेका छौं ।तपाईहरुको शहादत पश्चात अभिभाबकको अभाव हुन नदिने बाचा गरेका तपाईका साथीहरुले  बाचा भुल्दा कहिले काँही पिडा झन् खहरे झै भएर आँउछ । बुवा ! सानो राहत र आश्वासनले मात्र जीवन चलाउन  साह्रैकठिन हुँदोरहेछ । बाँचुन्जेल हुने खाने हुन नसकेतापनि हँुदा खाने सम्मको स्थितिमा हामीहरु पुग्न पाए हुन्थ्यो भन्ने मात्रै हाम्रो चाहाना हो । तपाई जस्तै हजारौं बुवाहरु जो आफ्नो रगत युद्धमा लगानी गर्नु भयो , सुन्दर,समुन्नत र नयाँ समाज निर्माण गर्ने उद्देश्यसहित आफ्नो ज्यानको बाजी राखेर गरिएका उच्च बलिदानले मुर्त रुप नपाउने होकि भन्ने चिन्ता हामीलाई हरपल लागिरहन्छ । हामी ब्यक्तिगत रुपमा तपाईहरुको बाटोमा देखापर्ने बिभिन्न समस्याहरुलाई पुरै पन्छाउन त के सक्थ्यौं र आशिंकरुपमा भएपनि त्यस्ता बिकृति,कुसंस्कारका बिरुद्द सकेजती संघर्ष गरिरहेका छौं , तपाईसंगैंका सहपाठीहरु अहिले त्यहि बाटोमा हिडिरहे पनि उनीहरुको र हाम्रो पिडामा तात्वयीक भिन्नता भने देखिदैन ।  तपाईका सह्रदयी ,सहपाठी तपाईलाई पछ्याउने लामो हुलले तपाईलाई बिर्सने त कुरो भएन झन्, तपाईको तिब्र अभावको आभाष ब्यक्त गरिरहेका छन् । त्यति मात्र होईन तपाई हिडिरहेको बाटोको बिरोध गर्ने कतिपय मानिसहरुले पनि ब्यक्तिगत रुपमा तपाईको प्रशंसा सहित परिचय  दिँदा तपाईको झनै आबश्यकताबोध हुन्छ ।  तपाईको सहादत पछि यहाँ थुप्रै अनगन्ती आरोहअबरोहहरु आए ,थुप्रै पिडाका दिनहरु संग जुध्नुपर्ने परिस्थिति आयो, तपाई संगै खाए खेलेका साथीहरु छुट्टीएर धेरै टुक्रापनि भए ।

 

ब्यक्तिगत रुपमा समाज,ब्यक्ति,र ब्यबहार परिवर्तन नै आमुल परिवर्तनको मूख्य संबाहक हो भन्ने तपाईको ब्यबहारवादी सिद्धान्त अनुरुप गरिएका प्रयासहरुले तपाईको अभाव झनै खड्रकिएको आभाष हुन्छ । कुसंस्कार, कुरीती, अन्धविश्वास जस्ता समाजलाई पछाडि धकेल्ने क्रियाकलापहरु पूर्णरुपमा निर्मुल त भएका छैनन् ,यस्ता क्रियाकलापहरुको चरम बृद्धिको समयमा समाज,गाँउ,टोलले तपाईलाई नै सम्झिरहने गर्छन् । तपाईले लामो समयसम्म शिक्षण गरेको विद्यालय वरपर भएको हरियाली फेरी नांगो डाँडोमा परिणत हुँने क्रममा छ , छोटो समय भएपनि शिक्षण गरेका अर्को विद्यालय समयानुकुल धेरै परिवर्तन भइसकेको र हुनेक्रममा छ ,बुवा । अन्त्यमा, तपाईहरुको सुन्दर सपना पुरा हुन सकेको त छैन ।  तपाईहरुको लक्ष्य,उद्देश्य प्राप्तीको लागि  अन्त्य सम्म हदै सम्मको कर्तब्य पुरा गर्ने बाचा गर्दछौं । सबै कुरा एउटै पत्रमा उल्लेख गर्न नसकेकोमा क्षमा चाहन्छु । बाँकी अर्को पत्रमा भेट्ने बाचा सहति अहिलेलाई बिदा हुन्छु ।

                                                                                                                                          उही तपाईको छोरा

                                                                                                                                             रबिकिरण वली

                                                                                                                                                 बा.न.पा. ५,सल्यान

प्रतिक्रिया दिनुहोस्