Logo

सिर्जनशील उद्यमी मेला भृकुटीमण्डपमा



Spread the love

१६ साउन, काठमाडाैँ – स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले १८ औँ सिर्जनशील उद्यमी मेला आजदेखि भृकुटीमण्डपमा शुरु भएको छ । महिला सिर्जनशील केन्द्रले आयोजना गरेको उक्त मेलामा करीब १०० बिक्री कक्ष छन् । घरेलु उत्पादन, हस्तकला, कपडा, जुत्ता, यान्त्रिक तथा सजावटका सामान प्रदर्शन तथा बिक्रीका लागि राखिएको छ । यही साउन २१ गतेसम्म मेला चल्नेछ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मेलाको शुभारम्भ गर्दै समाजिक रुपान्तरणका लागि महिला उद्यमशीलताको खाँचो रहेको बताइन् । समाजमा हुने आर्थिक गतिविधिमा महिला वर्गको पहुँच नभएका कारण महिला सशक्तीकरण हुन नसकेको अवस्थामा उनीहरुलाई सीपमूलक व्यवसाय, तालीम उपलब्ध गराई उद्यमी बनाउन स्थानीय तहले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिइन् ।

सोही मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले कूल गार्हस्थ उत्पादनको करीब ४० प्रतिशतले व्यापार घाटा बढ्दै गएको अहिलेको अवस्थामा महिला वर्गले उत्पादन गरेका स्वदेशी वस्तुको प्रयोग बढाउनुपर्ने बताए ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले स–साना घरेलु उद्योगले सिर्जना गर्ने रोजगारीले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मेलालाई आफ्नो संस्थाले एक लाख आर्थिक सहयोग गर्ने बताइन् । केन्द्रका अध्यक्ष निलु थापाले महिलालाई विभिन्न प्रकारका तालीम दिएर उद्यमी बनाउने र उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने संस्थाको नीति रहेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्