Logo

भवन छैन महानगरको, बहालमा कार्यालय



Spread the love

१२ साउन, काठमाडौं । महानगरपालिकाभित्रका घरबाट बहाल कर उठाउँदै आएको काठमाडौँ महानगरपालिका आफैँ भने बहालको घरमा बस्दै आएको छ । महानगरपालिकाको मुख्य कार्यालयलगायतका केही कार्यालय भाडामा र केही कार्यालय जिल्लास्तरीय विषयगत कार्यालयमा रहेका छन् ।

सबैभन्दा बढी जनसङ्ख्याको बसोबास रहेको कामपा आफ्नै भने भवन छैन । पहिले महानगरपालिकाको कार्यालय रहेको बागदरबार पुनःनिर्माणका लागि गुठी संस्थानले अनुमति नदिएपछि अहिले कामपा आठ ठाउँमा छरिएको छ । कामपाका वडाको भवन निर्माण अघि बढिरहँदा महानगर आफ्नै भने भवन कहिले र कहाँ बन्ने भन्ने टुङ्गो लाग्न सकेको छैन ।

महानगरपालिकाको आफ्नै भवन नहुँदा महाशाखा छरिएको र यसले गर्दा महानगरवासीलाई सेवा लिन गाह्रो भएको प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो । महानगरपालिकाभित्र विभिन्न स्थानमा सार्वजनिक जग्गा भए पनि पायक पर्ने ठाउँमा जग्गा नभएकाले भवन निर्माणको योजना नै बनाउन नसकिएको उहाँको भनाइ छ ।

पहिले भवन भएकै स्थान सुन्धारा वा त्यसको आसपास हुँदा यहाँका ३२ वटै वडालाई पायक हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “वडा नम्बर ३१ र ३२ लगायतका केही स्थानमा जग्गा भए पनि सबैलाई पायक नपर्ने हुँदा हामीले भवन निर्माणको योजना बनाएका छैनौँ ।”

विसं २०७२ को भूकम्पमा बागदरबार क्षतिग्रस्त बनेको थियो । भवन बस्नै नमिल्ने गरेर जीर्ण भएपछि अहिले कतिपय पहिलेका जिल्लास्तरीय कार्यालय र कतिपय भाडाका घर कार्यालय छरिएर रहेको प्रवक्ता डङ्गोलले बताउनुभयो ।

सेवाग्राहीले एउटै कामका लागि तीन÷चार ठाउँमा धाउनु परेको गुनासो गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा कार्यालयबाट अर्काे नजिकसमेत नभएकाले सानो काममा पनि समय लागेको छ ।”

सो भवन क्षतिग्रस्त भएपछि कामपाले भवन भत्काएर सोही स्थानमा पुनःनिर्माण गर्ने योजना बनाएको थियो । पुरातत्व विभागले पहिले सो भवन भत्काउन नमिल्ने बताउँदै आएको थियो भने अहिले भत्काए पनि पुरानै स्वरुपमा निर्माण हुनुपर्ने बताउँदै आएको छ । केही संस्कृतिविद्ले ऐतिहासिक सम्पदा भएकाले भत्काउन नहुने भन्दै सर्वाेच्चमा रिट निवेदन हालेका थिए । अदालतले गत असोजमा नै नभत्काउनु भन्दै अन्तरिम आदेश दिएको थियो ।

अहिले सो भवन के गर्ने भन्ने टुङ्गो लागी नसकेको प्रवक्ता डङ्गोलले बताउनुभयो । सङ्घीय सरकारले नै भवन निर्माणबारे नीतिगत निर्णय लिनुपर्र्नेेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “सर्वाेच्च अदालतको आदेशको सम्मान गर्दै कसरी अघि बढ्ने भन्ने नेपाल सरकारले नै निर्णय गर्नुपर्छ ।”

कामपाले नगरवासीलाई नै सुविधा दिने उद्देश्यले सबै महाशाखा, शाखालगायतका कार्यालय अट्ने गरेर ठूलो भवन भाडामा लिने तयारी गरेको प्रवक्ता डङ्गोलले बताउनुभयो । कर्मचारी सञ्चय कोषको काठमाडौँ मललगायतका दुई÷चार ठाउँमा महानगरले भवन भाडामा लिनका लागि छलफल गरिरहेको छ । उहाँले भन्नुभयो, “हामीले सकेसम्म सबै कार्यालय अट्ने गरेर ठूला भवन भाडामा लिन खोजिरहेका छौँ ।” रासस

प्रतिक्रिया दिनुहोस्