११ साउन, काठमाडाैँ – बढ्दो सवारीसाधनको खरिद बिक्रीले देशको अर्थतन्त्रमा टेवा पुर्याउनुका साथै मानिसका दैनिक गतिविधिलाई सहज बनाएको छ । सवारीसाधनको बढ्दो खरीदबिक्रीले देशभर दुर्घटनामा पनि वृद्धि ल्याएको छ ।
आर्थिक वर्ष २०७५÷७६ मा देशभर भएका जम्मा ३ हजार ३६६ सवारीसाधन दुर्घटनामा २ हजार ७८९ जनाले ज्यान गुमाएका छन् । त्यसै गरी ४ हजार ३७६ जना गम्भीर घाइते हुँदा १० हजार ३६० व्यक्ति सामान्य चोटपटकको शिकार भएका छन् ।
आव २०७४÷७५ को तुलनामा आव २०७५÷७६ मा देशभर सवारीसाधन दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढेको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए । आव २०७४÷७५ मा ९ हजार ९८९ सवारीसाधन दुर्घटना हुँदा २ हजार ३१८ जनाको मृत्यु भएको थियो । आव २०७३÷७४ मा भने आव २०७४÷७५ को भन्दा बढी व्यक्तिको मृत्यु सवारी दुर्घटनाका कारण भएको थियो । आव २०७३÷७४ मा १० हजार १७८ सवारीसाधन दुर्घटनामा परी २ हजार ३ सय ८४ जनाको ज्यान गयो ।
के कारणले बढ्दैछ सवारी दुर्घटना ?
देशभर सवारी दुर्घटनामा वृद्धि हुनुको कारण चालकको लापरवाही ठम्याइएको छ । यात्रुको गल्ती, जथाभावी उछिन्ने काम, तीव्रगति, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी, बढी तौल भएको सामानको ढुवानीका कारण दुर्घटना दुर्घटना बढ्दै गएको नायब महानिरीक्षक पोखरेलको भनाइ छ ।
कुन साधन हुन्छन् धेरै दुर्घटना ?
प्रहरी प्रधान कार्यालयका अनुसार मोटरसाइकल, ट्रक, टिपर, जीप, कार, ट्र्याक्टर र टेम्पो बढी दुर्घटना हुने गरेका छन् । जथाभावी मोटरसाइकल चलाउने र लेन अनुशासनलाई पालना नगर्दा मोटरसाइकल दुर्घटनाका समाचार दिन प्रतिदिन बढ्दै गएका छन् । ठूला ट्रक र टिपरमा हुने अपरिपक्व चालकका कारणले पनि सडक दुर्घटना बढ्दै गईरहेका छन् ।
उपत्यकामा आकासियो दुर्घटना ?
काठमाडौँ उपत्यकामा सवारीसाधन दुर्घटनाको सङ्ख्या वर्षेनी निरन्तर उकालो लागिरहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आव २०७४÷७५ को तुलनामा आव २०७५÷७६ मा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या ह्वात्तै बढेको छ । आव २०७३÷७४ मा उपत्यकामा सवारी दुर्घटनाबाट १ सय ९४ जनाले ज्यान गुमाएका थिए भने आव २०७५÷७६ मा उक्त सङ्ख्या बढेर २ सय ५४ मा पुगेको छ । वर्षेनी लगभग १ सय जनाको दरमा काठमाडौँमा मानिसको मृत्यु बढिरहेको छ ।
के भन्छन् प्रहरी ?
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त फराकिलो सडक, भौतिक पूर्वाधारको कमी र तीव्र गतिका कारण उपत्यकामा सवारीसाधन दुर्घटनामा वृद्धि भएको हो । “चालकलाई ट्राफिक ज्ञान नहुँदा उपत्यकामा दुर्घटना बढेको हो”, उनले भने । महाशाखाले उपत्यकाको सवारी दुर्घटनालाई कम गर्न विभिन्न समय विभिन्न किसिमका जनचेतनामूलक कक्षा सञ्चालन, तीव्र गतिमा गुड्ने सवारीसाधनलाई सीमित गति, सडकको बीच भागमा डिभाइडर राख्नेलगायत काम गर्दै आएको छ ।
किन हुन्छ दुर्घटना ?
महानगरीय ट्राफिक प्रहरी महाशाखाका पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठले मानवीय कारणअन्तर्गत तीव्र गतिमा सवारी चलाउनु र चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको बताएका छन् । उनले २५ प्रतिशतभन्दा बढी दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको बताए । तीव्र गतिलाई कम गर्नसके ३० देखि ४० प्रतिशत दुर्घटनामा कमी आउन सक्ने श्रेष्ठ बताउँछन् ।
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल सडक सुरक्षित भएमात्र सवारीसाधन दुर्घटनामा कमी आउने भएकाले सडक सुरक्षित गर्न नेपाल प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँछन् । “सडक दुर्घटनालाई कम गर्न गृहमन्त्रालयले सात प्रदेशको १४ स्थानमा चालक तथा यात्रुका लागि आरामस्थल निर्माण गरिरहेको छ”, उनले भने । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा ११ लाखको हाराहारीमा सानाठूला सवारीसाधन सञ्चालनमा छन् ।