१० साउन, काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेशनलले पहिलो खेलमै नै पराजय व्यहोरेको छ । भेन्कुवर नाइट्ससँग टोरन्टो ८ विकेटले पराजित भएको हो ।
टोरन्टोले प्रस्तुत गरेको १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको नाइट्सले १६ बल अगाडीनै २ विकेटको नोक्सानीमा पुरा गर्यो । उसका लागि रस्सी भान डर दुसेनले ४३ बलको सामना गर्दै ४ चौका र ३ छक्काको मदतमा ६५ रनमा अविजित रहे ।
त्यस्तै, चाडविक वाल्टनले पनि ३५ बलको सामना गर्दै ४ चौका र छक्का सहित ५९ रनमा अविजित रहँदै टोलीको सहज जित पक्का गरे । कप्तान गेल १२ र टोयिबा भिसीले २० रनमा आउट भए । नेशनलका लागि जेर्मी गर्डन र मार्क मोन्टफोर्टले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेशनलले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।
टोरन्टोका लागि रोड्रिगो थोमस र हेनरिक क्लासेनले समान ४१ रन बनाए । किरोन पोलार्डले अविजित ३० रन बनाए । भान्कोभरका रिजवान चीमा, साद बीन जफर, मिचेल रिप्पोन, एन्डिल फेलुकवायो र अलि खानले एक एक विकेट लिए ।