Logo

स्थानीयद्वारा जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध



Spread the love

 

 

६ साउन, काठमाडौं । जीर्ण सडकमा ग्राभेल भन्दै माटो हालेर खेत रोप्ने गह्रा जस्तो बनाइएको भनी स्थानीयवासीले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध गरेका छन् ।

सडक विस्तार गरी कालोपत्रका लागि बोलपत्र गरेको चार वर्ष बित्दा समेत काम शुरू नगरी माटो हालेर थप समस्या ल्याउन खोजिएको स्थानीयवासीको आरोप छ । माटो हालेपछि सडक थप जीर्ण हुनुका साथै यात्रुको सुरक्षामा समेत गम्भीर प्रभाव पर्ने गरेको स्थानीय नन्दलाल श्रेष्ठको गुनासो छ ।

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार एवं कालोपत्रका लागि पहिलो पटकको म्याद सकिएर थपेको समय पनि भदौमा सकिँदैछ । तर सडकको अवस्थामा कुनै परिवर्तन भएको छैन । सार्वजनिक जग्गा भएका स्थानमा विस्तार गर्न पर्खाल लगाए पनि अन्यत्र काम शुरू हुन सकेको छैन । काम शुरू हुन नसकेका ठाउँको सडकमा खाल्डाखुल्डी बन्दा पानी जमेर किनारका घरमा पनि बस्न सक्ने अवस्था छैन । सार्वजनिक जग्गामा पर्खाल लगाएको ठाउँमा समेत खाडल नपुर्दा सवारी आवागमनमा समस्या छ ।

गोकर्णेश्वर महादेव मन्दिरबाट भगवतीस्थानतिर आउने मूल सडकमा पर्खाल लगाए पनि बीचमा पर्ने रुख अझै काटिएको छैन । यसले गर्दा यातायात सञ्चालनमा अप्ठ्यारो भइरहेको छ । धेरै सवारी साधन फस्ने गरेको यात्रु श्याम पुडासैनीले बताए ।

सडकको विभिन्न स्थानमा बनेका खाडलमा ताल र पोखरी छन् । करीब सात किमीको यो सडक विस्तार एवं निर्माणका लागि दुई चरणमा ठेक्का गरिएको थियो । दुवैतर्फको अधिकांश भागमा काम शुरू हुनसकेको छैन । काम शुरू गरेको स्थानमा पनि पूरा नगरी झुलाएर राखिएको छ ।

विसं २०७२ मा गरिएको ठेक्काको पहिलो पटकको म्याद गत भदौमा सकिएपछि एक वर्षका लागि समय थप गरियो । थप गरिएको समय सकिन एक महिनामात्र बाँकी हुँदा काम भने शुरू हुन सकेको छैन । सडक नबन्दा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु, स्थानीयवासीलगायत प्रयोगकर्ताले सास्ती बेहोर्नुपरेको छ । संघीय संरचना अनुसार तीन तहको सरकार क्रियाशील रहे पनि जनताका यस्ता समस्या समाधानमा कसैको ध्यान नपुगेको सडक छेउका बासिन्दा कुमार श्रेष्ठको गुनासो छ ।

सडकको केन्द्रविन्दुबाट दायाँबायाँ ११-११ मिटर गरी २२ मिटरको सडक विस्तार गर्न काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ठेक्का लगाएको थियो । दुई खण्डमा गरी करीब ५५ करोड रुपैयाँको ठेक्का गरियो । मुआब्जा पाउनुपर्ने माग गर्दै स्थानीयवासीले विरोध जनाएपछि काम हुन सकेन । विसं २०७४ असोजमा सर्वोच्च अदालतले स्थानीयवासीको घरजग्गा लिएर सडक विस्तार गर्दा मुआब्जा दिनुपर्ने फैसला गरेको थियो ।

फैसलालाई पुनरावलोकन गर्न सडक विभागले गरेको पुनरावेदनमा पनि मुआब्जा दिएरै विस्तार गर्न आदेश जारी भइसकेको छ । यो सडकको सबै भाग गोकर्णेश्वर नगरपालिकामा पर्छ । नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगाना स्थानीयवासीको समस्या, सर्वोच्चको फैसलालाई ध्यान दिएर केन्द्रबिन्दुबाट दायाँबायाँ सात-सात मिटर कायम गर्ने प्रस्ताव गरिएको बताउँछन् । ( रासस )

प्रतिक्रिया दिनुहोस्