२२ असार, भीमदत्तनगर l कञ्चनपुर वेदकोट नगरपालिका–२ का किसान हरिदत्त जोशी आकाशमा बादल छाउनासाथ हल गोरु लिएर खेतमा जान्छन् । सबैतिर रोपाइँको चटारो भइरहेका बेला आकाश हेरेर बसेका जोशी वर्षा नहुँदा खेत बाझै रहन्छ भन्ने चिन्तामा डुबेका छन् । “आकाशमा बादल देखेर खुशी हुँदै खेतसम्म पुग्दा घाम लागेपछि निराश भएर फर्किनु उनको दिनचर्या भएको छ”, जोशी भन्छन्, “वर्षात् नहुँदा बेर्ना पनि सुक्न थालिसक्यो ।”
असार महिना सकिन लाग्दा पनि यहाँ वर्षा नभएपछि आकाशे पानीको भरमा खेती गर्ने किसानहरु निराश हुन थालेका छन् । बोरिङबाट रोपाइँ गरिरहेका वेदकोट नगरपालिका–२ का देवदत्त जोशी पनि सिँचाइ नहुँदा समस्या भएको बताउँछन् । विसं २०६८ मा सिँचाइका लागि भन्दै भूमिगत जलस्रोत विकास समिति धनगढीले तीन वटा ट्युबवेल निमार्ण गरे पनि सञ्चालनमा आउन सकेका छैनन् । साठी बिघा खेतलाई सिँचाइ गर्ने लक्ष्य लिइएको भए पनि वर्षौँसम्म सञ्चालनमा नआउँदा लगानी पनि खेर गएको जोशीको भनाइ छ ।
उनले भूमिगत जलस्रोत विकास समितिले यहाँका किसानबाट धरौटी भन्दै रु ५८ हजार संकलन गरेको भएपनि त्यसको लेखाजोखा नभएको बताउँछन् । “स्थानीय तहदेखि हेलो प्रधानमन्त्री हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म गुहार माग्दा पनि सुनुवाइ भएको छैन्”, जोशी भन्छन्, “सिँचाइ नहुँदा यहाँ खेतको बेर्ना काम नलाग्ने भइसक्यो ।”
स्थानीयवासी इन्द्रवति जोशीले सिँचाइ अभावका कारण आकाशे पानीको भर पर्नुको विकल्प नभएकोे बताउँछन् । “ यस्तै रहे खेत बाझैँ राखेर चामल किन्नुपर्ने अवस्था आउँला जस्तो भयो”, उनी भन्छन्, “गाँउ छेउछाउका खोला नदीको पानी पनि सुकिसकेको अवस्था छ । ”
भूमिगत जलस्रोत विकास समितिका कार्यालय प्रमुख अमरबहादुर चन्दले नौ वटा ड्युप ट्युबवेलमध्ये ६ वटा सञ्चालनमा रहेको दावी गर्छन् । उनले दुई वटा सफल हुन नसकेको र एउटा सञ्चालनमा आउने तयारीमा रहेको जानकारी दिएका छन् । ट्युबवेल बिग्रेको भएपनि किसानहरुको आग्रह अनुसार त्यसलाई मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने उनी बताउँछन् ।
तर किसानहरुले पटक–पटक ताकेता गर्दा कुनै सुनुवाई नभएको दुःखेसो पोखेका छन् । सिँचाइ अभावका कारण यहाँ अहिलेसम्म ३५ प्रतिशत मात्रै रोपाइँ भएको छ ।
कञ्चनपुरमा सिँचाइका लागि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको निर्माण जारी छ । ३३ हजार हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य लिएको आयोजनाको काम भने सुस्त गतिमा छ । कैलालीको मालाखेतीसम्म १५१ किलोमिटर मूल नहर निर्माण गर्ने भनिएपनि एक दशकको अवधिमा १३ किलोमिटर नहर मात्रै निर्माण भएको छ । (रासस)