२० असार, अबुजा l नाइजेरियाली सेनाले आतंकवादी संगठन बोको हरामका लडाकूले सैनिक शिविरमा गरेको आक्रमणलाई विफल तुल्याएको जनाएको छ । नाइजेरियाको बोर्नो राज्यमा बोको हरामले बिहीबार राति आक्रमण गरेका थिए ।
सेनाको जवाफी कारबाहीमा ठूलो संख्यामा बोको हरामका लडाकूहरु मारिएको पनि सेनाले दाबी गरेको छ । सेनाका ब्रिगेडियर जनरल बुलामा बिउले नाइजेरियाली वायुसेनाको सहयोगमा सैनिकले बोको हरामका लडाकूहरुलाई परास्त गरेको जानकारी दिए ।
बन्दुक–जडित ट्रकमा आएका बोको हरामका लडाकूहरुले सेनाको शिविरमा आक्रमणको प्रयास गरेका थिए । दुई दिनअघि पनि बोर्नोको छिमेकी राज्य योबेमा पनि बोको हरामका लडाकूले सैनिक शिविरमा असफल आक्रमण गरेका थिए ।
भिडन्तमा मारिएका लडाकाको संख्याका बारेमा बताउन अस्वीकार गरेका ब्रिगेडियर जनरल बिउले बोको हरामका लडाकूबाट दुई वटा ट्रक र हातहतियार बरामद गरिएको बताए । सिन्ह्वालाई प्राप्त अर्को एक सूचना अनुसार सेनाको प्रतिकारका क्रममा कम्तीमा नौ जना आतंकवादी मारिएका थिए । (रासस)