२० असार, काठमाण्डाै ।
काठमाण्डौकाे अन्नपूर्ण हाेटलमा बिहीबारदेखि इन्डोनेसियाली बाटिक मेला सञ्चालनमा आएको छ ।
मेला इन्डोनेसियाली दूतावास र नेपालमा रहेकाे इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूतको कार्यालयले आयोजना गरेकाे हो । नेपालका लागि इन्डोनेसियाली राजदूत रिनो पि सोएमर्माे र नेपालका लागि इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
आइएमई ग्रुप र आइएमई ट्राभल सहआयोक रहेको मेलामा इन्डोनेसियाली बुटिकले तयार गरेका पहिरनहरु प्रदर्शनमा राखिएको छ । मेलामा बुटिक कपडाका सौखिनहरुका साथै नेपालमा रहेका इन्डोनेसियाली समुदायका नागरिक र नेपाल तथा इन्डोनेसियाका ट्राभल एजेन्सीहरुको पनि सहभागिता रहने छ ।
मेलाको उद्घाटन गर्दै नेपालका लागि इन्डोनेसियाली राजदूत सोएमर्माेले इन्डोनेसिया र नेपालको सम्बन्धको घनिष्ठताको चर्चा गर्नुभयो । इन्डोनेसिया नेपालको एक हितैषी राष्ट्र भएकाे भन्दै दुई देशबीच धार्मिक, सांस्कृतिक लगायतका धेरै क्षेत्रमा असल सम्बन्ध रहिआएको स्पष्ट परेको छ ।
नेपालका लागि इन्डोनेसियालीअवैतनिक महावाणिज्यदूत ढकालले नेपाल र इन्डोनेसियाबीचको असल सम्बन्धको चर्चा गर्दै पछिल्लो समयमा इन्डोनेसिया र विशेष गरी त्यहाँको बाली टापू नेपाली पर्यटकहरुको आकर्षक गन्तव्य बनेको बताए ।
शुक्रबारसम्म चल्ने मेलाकाे उद्घाटन कार्यक्रममा इन्डोनेसियाको कला र संस्कृति झल्किने विविध सांस्कृतिक कार्यक्रम तथा इन्डोनेसियाली बुटिकबाट निर्मित पहिरनहरुको ‘फेसन शाे’ पनि प्रस्तुत गरिएको थियो । ( रासस )