१९ असार, काठमाडौँ । उत्तर कोरियाले अमेरिकालाई ‘शत्रुतापूर्ण व्यवहारबाट डगमग नभएको’ आरोप लगाएको छ। दुई देशबीच परमाणु सम्बन्धी वार्तालाई पुन: सुचारू गर्नका लागि भएको पछिल्लो सम्झौताबीच प्योङ्याङ्को त्यस्तो भनाइ आएको हो ।
संयुक्त राष्ट्रसङ्घका लागि उत्तर कोरियाली प्रतिनिधिमण्डलले बुधवार अमेरिकाले ‘प्रतिबन्धहरूप्रति आशक्ति देखाएको’ बताएको थियो।
उसले वासिङ्टनलाई कोरियाली प्रायःद्वीपको शान्तिपूर्ण अवस्थालाई अवमूल्यन गर्ने प्रयास गरेको आरोप लगाएको छ। यो वक्तव्य दुई देशका नेताहरूले ऐतिहासिक भेटघाट गरेको केही दिनपछि आएको हो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली समकक्षी किम जङ्-अनसँग आइतबवार कडा सैन्य तैनाथी हुने दुई कोरियालाई छुट्याउने असैनिकीकृत क्षेत्र (डीएमजेड)मा भेटेका थिए।
ट्रम्प उत्तर कोरियाली भूमिमा पाइला टेक्ने पहिलो सत्तासीन अमेरिकी राष्ट्रपति समेत बनेका थिए। उनीहरूबीच भएको झण्डै एक घण्टा लामो वार्तामा निशस्त्रीकरण सम्बन्धी अवरूद्ध वार्तालाई पुन: सुचारू गर्ने कुरा भएको थियो।
तर बुधवारको उत्तर कोरियाली वक्तव्यले भने उसले आफ्नो शैलीमा परिवर्तन नल्याएको देखाउँछ। उनीहरूबीच पछिल्लो समय देखा परेको क्रुद्ध व्यवहार पुनरावृत्ति भएको देखिन्छ।
उत्तर कोरियाले के भन्यो?
उत्तर कोरियाली प्रतिनिधि मण्डलले भनेको छ: प्रशोधित पेट्रोलियम निर्यात गर्ने पाउने सन् २०१७ को सम्झौता तोडेको अमेरिकी आरोपको जवाफ दिइएको हो।
उसले अमेरिका, फ्रान्स, जर्मनी र ब्रिटेनले सबै राष्ट्रसङ्घ सदस्यलाई उत्तर कोरियामा थप प्रतिबन्धहरू लगाउन आग्रह गर्दै पठाएको एउटा संयुक्त पत्रको समेत जवाफ भएको बताएको छ।
उक्त पत्रमा ती देशहरूले सबै राष्ट्रहरूलाई उत्तर कोरियाली श्रमिकहरूलाई समेत स्वदेश फिर्ता पठाउन भनिएको छ।
“के तथ्यलाई बिर्सन सकिन्न भने संयुक्त पत्रको खेल… राष्ट्रपति ट्रम्पले भेटवार्ताको प्रस्ताव गरेकै दिन सुरुवात गरिएको हो,” उक्त वक्तव्यमा भनिएको छ। “[यसले] यथार्थमा के भन्छ भने अमेरिका उत्तर कोरियासँग झन् बढी शत्रुतापूर्ण व्यवहारमा अडिग छ।”
प्रतिबन्धहरूलाई ‘सबै समस्याहरूको अचूक औषधी’ भनेर हेर्ने दृष्टिकोण ‘निकै हास्यास्पद’ भएको प्योङ्याङ्ले थपेको छ। अमेरिकाले भने अहिलेसम्म उक्त वक्तव्यप्रति प्रतिक्रिया जनाएको छैन।
अमेरिका-उत्तर कोरिया सम्बन्ध कस्तो छ ?
गत वर्ष ट्रम्प-किमबीच सिङ्गापुरमा वार्ता हुँदा उत्तर कोरियालाई आफ्नो विवादास्पद परमाणु कार्यक्रम रोक्न मनाउने प्रयास उत्कर्षमा पुगेको ठानिएको थियो।
उनीहरू दुवैले कोरियाली प्राय:द्वीपमा ‘पूर्ण आणविक निशस्त्रीकरण’का लागि प्रतिबद्ध भएको बताएका थिए। तर त्यसलाई स्पष्ट रूपमा भने अर्थ्याएनन्। ( रासस )