Logo

पुनःनिर्माणमा खटिएका १९ प्राविधिक कारवाहीमा



Spread the love

१६ असार, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणमा खटिएका १९ जना प्राविधिकलाई कारवाही गरेको छ ।

प्राधिकरणअन्तर्गत भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका ती प्राविधिक विभिन्न गैरकानूनी काममा संलग्न रहेको आरोपमा कारवाही गरिएको हो ।

भूकम्पपीडितबाट गैरकानूनी रुपमा रकम असुलेको, पीडितलाई दुःख दिएको, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर कीर्ते गरी हाजिर सिफारिस गर्ने गरेको, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र जिल्ला आयोजना कार्यान्वयन एकाइले दिएका निर्देशन पालना नगरेका कारण कारवाही गरिएको प्राधिकरणले जनाएको छ ।

ती प्राविधिकको करार सम्झौता भङ्ग गरी नियमानुसार कारवाही गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए । कारवाहीमा पर्नेमा १२ इञ्जिनीयर, पाँच सव–इञ्जिनीयर र दुई जना सहायक सव–इञ्जिनीयर छन् ।

तीमध्ये नुवाकोटमा कार्यरत आठ, काभ्रेपलाञ्चोकमा कार्यरत तीन, सिन्धुपाल्चोकमा कार्यरत दुई, दोलखामा कार्यरत दुई, धादिङमा कार्यरत दुई जना छन् । भोजपुर र सोलुखुम्बुमा कार्यरत एक–एक जना प्राविधिक रहेको उनले जानकारी दिए । ( रासस )

प्रतिक्रिया दिनुहोस्