१६ असार, काठमाडौँ l लुम्बिनी क्षेत्रको १५ किलोमिटर वरिपरि रहेका उद्योग कलकारखाना सञ्चालन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
गत दिन न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले लुम्बिनी क्षेत्र वरपर कुनै पनि उद्योग कलकारखाना सञ्चालन नगर्न अन्तरिम आदेश दिएको हो ।
गएको चैतमा जनहित संरक्षण मञ्चका अध्यक्ष प्रकाशमणी शर्माले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उक्त आदेश जारी गरेको हो ।
औद्योगिक प्रवर्द्धन बोर्डले लुम्बिनी क्षेत्रको १५ किलोमिटर वरपर उद्योग कलकारखाना सञ्चालन गर्न नपाइने भन्दै बनाएको नियमलाई उल्लङ्घन गरेका श्रीराम सिमेन्ट, गोयन्का सिमेन्ट, कैलाश सिमेन्ट, सिद्धार्थ सिमेन्ट, नेपाल अम्बुजा सिमेन्ट र श्याम प्लाइउडका नाममा पनि सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।
सरकारको नियम नटेरे पश्चात् लुम्बिनी क्षेत्रमा उद्योग कलकारखाना सञ्चालनपछि प्रदुषण बढ्नका साथै ऐतिहासिक सम्पदामा क्षति पुर्याएको शर्माको रिटमा उल्लेख थियो ।
विश्वसम्पदा सूचीमा परेको लुम्बिनी क्षेत्रको संरक्षणका लागि सोही स्थानको उद्योग कलकारखाना बन्द हुनुपर्ने जिकिर शर्माको थियो l