१५ असार, भक्तपुर l भैरव बहानगण गुल्मले आफ्नो परिसरमा आज विभिन्न जातका ३०० भन्दाबढी बिरुवा रोपेको छ ।
मध्यपुरथिमि गठ्ठाघरस्थित गुल्म परिसरमा आयोजना गरिएको कार्यक्रममा मध्यपुर नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, गुल्मपति हिमालय थापा लगायतले फलफूलका विभिन्न जातका बिरुवा रोपेको थियो ।
नेपाली सेनाले यो वर्ष वर्षायामअगावै एक लाख ५० हजार ९७७ बिरुवा रोप्ने अभियान शुक्रबार सैनिक मुख्यालय जङ्गी अड्डाबाट शुरु गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भ गर्नुभएको ‘एक घर एक फलफूलको बिरुवा रोप्ने’ कार्यक्रमलाई मूर्तरूप दिन सेनाले ‘एक जवान एक बिरुवा अभियान’ सञ्चालन गरेको हो ।
उक्त अभियानअन्तर्गत भएको सो कार्यक्रम नासपाति, आँप, लिची, सुन्तला, अम्बा, निबुवा, भोगटे, अङ्गुरलगायत बिरुवा रोपिएको हो ।
गुल्मपति सेनानी हिमालय थापाले मध्यपुरथिमि नगरपालिकाकोसमेत सहयोगमा रोपिएका बिरुवा मध्यपुरथिमिकै सम्पत्तिका रुपमा रहने बताए । कार्यक्रममा मध्यपुरथिमिका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखलगायत अन्य प्रतिनिधिको सहभागिता थियो । (रासस)