९ असार, काठमाडौँ l सांसदहरूले तराई–मधेस द्रुतमार्ग निर्धारित बेलैमा पूरा हुनेमा आशंका व्यक्त गरे ।
आज बसेको प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरूले द्रुतमार्गको काम निर्धारित समयमै सम्पन्न हुनेमा आशंका व्यक्त गरेका हुन् ।
उनीहरूले डीपीआर निर्माणको कामसमेत अहिलेसम्म नसकिएको भन्दै दुई वर्षभित्रै आयोजना सकिन कठिन हुने बताएका छन् । सो काम सक्न भइरहेको ढिलाइले लागतसमेत बताउने र तत्काल तीव्रता दिनुपर्ने सांसदहरूको भनाइ थियो ।
द्रुतमार्ग निर्माणका क्रममा देखिएको मुआब्जा विवादसमेत तत्काल हल गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराए । उक्त निर्माणको जिम्मेवारी नेपाली सेनाले लिएको छ ।
सेनाले २ वर्षभित्र काम सक्ने दाबी गर्दै आएता पनि सांसदहरूले भने अझै ५ वर्ष लाग्न सक्ने भन्दै सेनालाई स्पष्ट जवाफ दिन माग गरेका छन् l
बैठकमा विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले पछिल्लो समय काममा ढिलासुस्ती भएको बताउँदै अब २ वर्ष मात्रै समय बाँकी रहेकाले कार्य योजना बनाएर मात्रै काम गर्न सेनालाई सुझाव दिइन ।