१७ जेठ, नेपालगञ्ज l बाँकेको नेपाल–भारत सीमावर्ती सुरक्षा अधिकारी तथा प्राविधिकसहितको संयुक्त टोलीले बाढीका कारण डुबानबाट वर्षेनी असर पर्दै आएको जिल्लाका विभिन्न क्षेत्र अनुगमन गरेको छ ।
नेपालबाट सिँचाइ विभागका महानिर्देशक सरिता दवाडी र भारतबाट सिँचाइ विज्ञ केएल दास नेतृत्वको संयुक्त टोलीले राप्ती नदीको सिधनियाँ घाटदेखि सीमावर्ती सुइँया बघौडासम्मको क्षेत्र अनुगमन गरेको हो ।
टोलीमा सहभागी नरैनापुर गाउँपालिकाका अध्यक्षय स्तियाक अहमदशाहले लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र बाँधजस्तो सडकका कारण बाँकेका बासिन्दाले वर्षौंदेखि झेल्दै आएको डुबान समस्या समाधानका लागि भारतीय पक्षले पहल थाल्ने आश्वासन दिएको बताए ।
बाँके राप्ती पारीका नागरिकले बाढी, डुबान र कटानको समस्या झेल्दै आएको जानकारी गराउँदै दीर्घकालीन समाधानका लागि टोलीलाई आग्रह गरिएको उनको भनाइ थियो । टोलीमा प्रदेश ५ का सांसद कृष्णा केसीलगायत स्थानीय जनप्रतिनिधिको पनि सहभागिता थियो ।
लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण बाँकेको गङ्गापुर, मटेहिया, बेतहनी र होलिया वर्षेनी डुबानमा पर्दै आएकामा पछिल्लो समय भारतले सीमामा बनाएको बाँधजस्तो सडकका कारण भारतीय सीमावर्तीको नेपाली बस्ती डुबानको उच्च जोखिममा पर्दै आएको छ । (रासस)