Logo

श्रमिक बालकलाई विद्यालय भर्ना



Spread the love

 

१४ जेठ, डोटी l दिपालय सिलगढी नगरपालिकाले नगरक्षेत्रमा रहेका चार श्रमिक बालकलाई विद्यालय भर्ना गरेको छ ।

नगरपालिकालाई नै बालश्रममुक्त नगर बनाउने अभियानअन्तर्गत पहिलो चरणमा ती बालकलाई दिपायलस्थित राजपुरमा रहेको शहीद स्मृति आवासीय विद्यालयमा भर्ना गरिएको नगर प्रमुख मञ्जु मलासीले बताए । उनले भने , “हामीले नगरपालिकालाई नै बालश्रममुक्त बनाउने अभियानअन्तर्गत पहिलो चरणमा चार जना श्रमिक बालकलाई स्कुल भर्ना गरेका छौँ, बाँकी सबैलाई विस्तारै स्कुल भर्ना गर्ने छौँ ।”
वडा नं ६ का विभिन्न घरमा घरेलु श्रमिकका रुपमा काम गरिरहेका बालकलाई सरकारी बजेटमा पढाउने गरी विद्यालय भर्ना गरिएको वडाअध्यक्ष सन्तोष बोहराले जानकारी दिए ।

बालकहरुलाई विद्यालय भर्ना गर्नका लागि आफूहरुले लामो समयदेखि प्रयास गरेको र अहिले आएर सफल भएको बोहरा बताएका छन् । बालश्रमिकमुक्त नगर बनाउने अभियान सफल पार्न नगरपालिकाले कडा कानून ल्याउने तयारी गरिरहेको नगर उपप्रमुख शिवराज खड्काले बताए । (रासस)

प्रतिक्रिया दिनुहोस्