१२ जेठ, काठमाडौं ।
आर्ट काउन्सिलमा कार्टुनिस्ट सानुराज डंगोलको ‘पोलिटिक्स’ शीर्षकको कार्टुन राखिएको छ। उक्त कार्टुनमा कौवाले घैंटोमा ढुंगा भरिरहेका छन्। घैंटो भने फुटेको छ र सबै पानी खेर गइरहेको छ। यो मेलम्ची खानेपानीको प्रसंगलाई उठाएर कोरिएको व्यंग्य कार्टुन हो।
मेलम्चीमाथि नै व्यंग्य गर्दै अर्का कार्टुनिस्ट रवीन्द्र मानन्धरले कार्टुन बनाएका छन्। ‘मेलम्ची’ शीर्षकमा उनले हात्ती छिर्यो तर पुच्छर अड्किएको देखाउँदै कार्टुन बनाएका हुन्।
राजेश मानन्धरको ‘किन बन्दैन समृद्ध नेपाल’ शीर्षकमा प्रधानमन्त्री ओलीबारे व्यंग्य चित्र छ। साथै अथक मनुको ‘साक्षर जिल्लामा ल्याप्चे’, दावा लामाको ‘पानीपोखरी’, केशवराज खनालको ‘प्रवृत्ति’ शीर्षकमा माफियामाथिको प्रहारलगायत थुप्रै कार्टुनमा सत्ताधारीलाई तीखो व्यंग्य गरिएको छ। तर यतिबेला कार्टुनिस्ट क्लब सेल्फ सेन्सरसिप रोज्ने तरखरमा छ। आखिर किन त ?
कार्टुनले पत्रकारिता र कला दुवै विधा समेट्छ। त्यसैले यतिबेला आर्ट काउन्सिलका भित्तामा सामाजिक विकृतिदेखि राजनीतिक विसंगतिसम्मका कार्टुन झुन्डिएका छन्। पछिल्लो समय कार्टुनले स्तरीय पत्रकारिता गर्नुपर्ने बहस चुलिँदै गएको छ। त्यसमाथि पछिल्लो समय मिडिया काउन्सिलले अगाडि सारेको विधेयक कार्टुनिस्टका लागि ‘सेल्फ सेन्सरसिप’ को कारण बन्दै गएको समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा छ।