Logo

विप्लव समूहले सेनाका जवानलाई अपहरण गरेको घटना महिनौसम्म गुपचुप



Spread the love

१२ जेठ, काठमाडौँ ।
प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ। अपहरणको उक्त घटना विप्लव र सेना दुवैतर्फबाट एक महिनासम्म गुपचुप राखिएको छ।

रुपन्देहीको सैनामैनास्थित सेनाको श्री नम्बर २ तालिम गणमा तालिमरत सैनिक जवान सुरेन्द्रबहादुर शाहीलाई वैशाख १६ मा विप्लव समूहका कार्यकर्ताले अपहरण गरेका थिए। छुट्टीमा घर गएका शाहीलाई विप्लव समूहले जाजरकोट जुनिचाँदे गाउँपालिका–२ स्थित आफ्नै घरबाट अपहरण गरेको हो। सैनिक जवान शाहीका बाबु वीरबहादुर कांग्रेसका तर्फबाट सोही वडाका अध्यक्ष हुन्। अपहरणको यो घटना वैशाख १६ गतेको हो। अपहरणलगत्तै शाहीलाई विप्लव समूहले अज्ञातस्थलतर्फ लगेको थियो।

अन्नपूर्ण पोस्ट्लाई प्राप्त सूचनाअनुसार शाही परिवारसँग विप्लव समूहले दुई लाख रुपैयाँ चन्दा मागेको थियो। वीरबहादुरले चन्दा दिन अस्वीकार गरेका थिए। चन्दा नदिएकै कारण शाहीलाई कार्यकर्ताले अपहरण गरेका हुन्। विप्लव समूहले जुनिचाँदे गाउँपालिकालगायत जाजरकोटका अधिकांश गाउँमा २० हजार देखि ४ लाखसम्म चन्दा उठाउने गरेका छन्।

शाही अपहरणका लागि २०÷२५ जनाको समूहको टोली उनको घर पुगेको थियो। त्यसमध्ये ९ जना महिला रहेको सैनिक स्रोतले उल्लेख गरेको समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्