६ जेठ, काठमाडौं ।
सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिडिया काउन्सिल विधेयक संशोधन गर्न सकिने बताएका छन्। पार्टीनिकट अगुवा पत्रकारसँग पार्टी कार्यालय धुम्बाराहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री बाँस्कोटाले विधेयकमा रहेको दण्ड जरिवानालगायत विषय संशोधन गरेर जान सकिने धारणा राखेका हुन्।
‘मिडिया काउन्सिल विधेयक अध्ययन गरेर नै ल्याइएको छ, तत्कालीन प्रेस चौतारीले उठाएका विषय समेटिएको छ। विधेयकको मस्यौदा पत्रकार महासंघका अध्यक्ष, संघ÷संगठनका अध्यक्ष पनि समेटिएको कार्यदलले नै बनाएको हो। त्यहीअनुसार आएको छ’, उनले भने, ‘दण्ड जरिवानाको विषयमा सच्याएर जान सकिन्छ, तपाईंहरूको सुझाव पाऊँ।’
नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, स्थायी समिति सदस्यहरू पम्फा भुषाल र योगेश भट्टराईसमेत उपस्थित कार्यक्रममा नेकपानिकट प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल, चौतारीका पूर्वअध्यक्षहरू शम्भु श्रेष्ठ, प्रमोद दाहाल, गगन विष्टलगायत उपस्थिति थियो। यो खबर आजको अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।