६ जेठ, नयाँ दिल्ली ।
भारतीय संसदको तल्लो सदन लोकसभाका ५ सय ४३ स्थानका लागि मतदान सम्पन्न भएको छ । आइतबार सातौं तथा अन्तिम चरणमा केन्द्र शासित चन्डीगढसहित ५९ सिटका लागि मतदान भएसँगै लोकसभा निर्वाचनमा मतदान सम्पन्न भएको हो । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
आइतबारको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित ९ सय १८ जना उम्मेदवारको भाग्यको फैसला हुनेछ । प्रधानमन्त्री मोदी उत्तर प्रदेशको वाराणसीबाट उम्मेदवार बनेका छन् । उनलाई भारतीय राष्ट्रिय काँग्रेसका अजय राय र समाजवादी पार्टीका शलिनी यादवले चुनौती दिएका छन् ।
सातौं चरणको निर्वाचनमा उत्तर प्रदेश र पञ्जाबमा १३–१३ सिट, पश्चिम बंगालका नौ, बिहार र मध्यप्रदेशका आठ–आठ सिट, हिमाञ्चलका सबै चार सिट, झारखण्डका तीन सिट तथा केन्द्र शासित चण्डीगढको एक सिटमा मतदान सम्पन्न भएको हो । अब २३ मेमा लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुनेछ ।
मतदान सम्पन्न भएसँगै लोकसभा निर्वाचनका विभिन्न मतपरिणामका सर्वेक्षणहरु सार्वजनिक भएका छन् । एग्जिट पोल भनिने मतदान गरेर निस्किरहेकाहरूसँग गरिएको सर्वेक्षणहरूका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी पुनः शक्तिमा आउने देखिएको छ ।
एग्जिट पोल अन्तर्गत रिपब्लिक÷सी भोटरका अनुसार भाजपा नेतृत्वको एनडीएले २ सय ८७, काँग्रेस नेतृत्वको युपीएले १ सय २८ र अन्य गठबन्धनले १ सय २७ स्थानमा जित हासिल गर्न सक्ने देखिएको छ ।