३ जेठ, काठमाडौँ ।
सर्वोच्च अदालतले नागरिकता परिपत्रसम्बन्धी रिटको सुनुवाइका लागि पुनः संयुक्त इजलासमा पठाएको छ । तीन सदस्यीय पूर्ण इजलासले विवाद फेरि दुई न्यायाधीश रहने संयुक्त इजलासमा पठाएको हो ।
यसअघि संयुक्त इजलासबाट पूर्ण इजलासमा सुनुवाइका लागि पेस गर्न आदेश भएको थियो । करिब डेढ महिनाको अवधिमा नागरिकता विवादको मुद्दा इजलास अदल–बदलमा अड्किएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
पूर्ण इजलासबाट आदेश गर्ने न्यायाधीशमध्ये दुई जना यसअघि संयुक्त इजलासमा बस्नुभएका न्यायाधीश हुनुहुन्छ । यसअघि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाले सुनुवाइका लागि पूर्ण इजलासमा पेस गर्न आदेश जारी गर्नुभएको थियो ।
र न्यायाधीशद्वय खतिवडा र माथेमा समेत सम्मिलित पूर्ण इजलासले मुद्दालाई पुनः संयुक्त इजलासमा पेस गर्न आदेश दिएको हो । तीन सदस्यीय इजलासमा अर्का सदस्य न्यायाधीश कुमार रेग्मी हुनुहुन्थ्यो । सामान्यतयाः एकपटक सोही विषयमा राय दिइसकेका न्यायाधीशले त्यही मुद्दा पुनः सुनुवाइ गर्ने प्रचलन छैन ।