२ जेठ, काभ्रेपलाञ्चोक ।
जिल्लामा वर्षौँदेखि दर्ता नगरी अवैधानिकरूपमा सञ्चालन गर्दै आइएका चार रोडा–ढुङ्गा खानी बन्द गरिएको छ । दर्ता नभई सञ्चालित उद्योग तथा खानी बन्द गराउने जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिको बैठकको निर्णयअनुसार ती रोडा–ढुङ्गा खानी बन्द गरिएको हो ।
समितिद्वारा गठित प्राविधिक उपसमितिको प्रतिवेदन तथा जिल्ला समन्वय समितिको सिफारिसका आधारमा अवैधानिकरूपमा वर्षौँदेखि सञ्चालन हुँदै आएका चार क्रसर उद्योगका खानी बन्द गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।
क्रसर उद्योग मात्रै दर्ता गरिएको तर दर्ता नगरी सञ्चालन गर्दै आएका खानी हालैका विभिन्न मितिमा बन्द गरिएका हुन् । बन्द गरिएकामा नमोबुद्ध नगरपालिका–४ स्थित पशुपति रोडा–ढुङ्गा उद्योगले नजिकै रहेको निजी जग्गामा दर्ता नगरी विसं २०६१ देखि सञ्चालित खानी, ओम सत्यसाई स्टोन क्रसर उद्योग प्रालिले विसं २०६५ देखि रोशी गाउँपालिका–७ मा विनादर्ता सञ्चालन खानी, नमोबुद्ध नपा–६ मा रहेको ब्लुसाइमन रोडा–ढुङ्गा उद्योग प्रालिले विसं २०६६ देखि र बेथानचोक गाउँपालिका–४ मा एसएस रोडा–ढुङ्गा उद्योगले दर्ता नगरी सञ्चालन गर्दै आएका खानी हुन् ।
अवैधानिकरूपमा सञ्चालन भइरहेको चार खानी बन्द गराइएको जिल्ला समन्वय समितिका संयोजक उद्धव केसीले बताए । उनले भने, “प्रतिवेदनका आधारमा अवैधानिक खानी बन्द गराइयो ।” उनका अनुसार जिल्लामा सञ्चालित २३ (ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन तथा उत्पादन उद्योग) मध्ये चार खानी अवैधानिक थियो ।
साथै, अधिकांश क्रसर नदीसँगै, विद्यालय र जङ्गल नजिक सञ्चालित भएको, अन्य केहीद्वारा वासिङको स्वीकृत लिएर क्रसर चलाइएको र अवैधानिक खानीका कारण बस्ती जोखिममा पर्ने प्रतिवेदनमा उल्लेख गरिएको थियो । रासस