२ जेठ, काठमाडाैँ – नेपाल र इटालीबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वर्ष प्रवेशका अवसरमा हिजो साँझ राजधानीमा विशेष साङ्गीतिक कार्यक्रम आयोजना गरिएको छ ।
नयाँदिल्लीस्थित इटालीको राजदूतावास, कोलकातास्थित सोही देशको वाणिज्य दूतावास र यहाँस्थित इटालीको अवैतनिक वाणिज्यदूतले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रममा इटालीका विश्वविख्यात कलाकार माइष्ट्रो डोमेनिक नर्डिओले विविध प्रस्तुति पस्किएका थिए ।
त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारीले इटालीले युरोपेली सङ्घमार्फत नेपालको विकास प्रयासमा सहयोग गर्दै आएकामा कृतज्ञता ज्ञापन गरे ।
इटालीका अवैतनिक वाणिज्यदूत प्रतिमा पाण्डेले नेपाल र इटालीबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू लागिपरेको बताउँदै गत वर्ष इटालीबाट १५ हजार पर्यटकले नेपालको भ्रमण गरेको जानकारी दिए ।