१ जेष्ठ, काठमाडौं ।
२५ रुपैयाँमा खाना १ सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो । भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन् । भैरहवाका व्यवसायी रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको च्यारिटेबल फाउण्डेसनअन्तर्गतको ‘अन्नपूर्ण भोजनालय’ मार्फत खाना खुवाउने जमर्को गरेका हुन् ।
गाडीमा घुम्ती सेवामार्फत खाना खुवाइन्छ। मंगलबारबाट खाना खुवाउन थालिएको छ। शाकाहारी खाना निम्न आय भएका वर्गलाई खुवाउने व्यवसायी रौनियारले उद्देश्य राखेका छन्। ‘२५ रुपैयाँमा निम्न आय वर्गलाई खाना खुवाउने हाम्रो उद्देश्य हो’, उनले भने, ‘तर निम्न वर्गका लागि मात्रै नभइ २५ रुपैयाँमा हामीले सबै वर्गलाई खाना खुवाउने छौं।’
विशेष गरी अस्पताल, सरकारी विद्यालय र मजदुरलाई कार्यस्थलमा फाउण्डेसनले घुम्ती सेवाबाट खाना खुवाउने छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।