१८ बैशाख, एजेन्सी – आफ्नो पर्वतारोहण अभियान टोलीले पहिलो पटक हिममानव ‘यती’ को पाइलाको निशान फेला परेको भारतीय सेनाले दाबी गरेको छ ।
सेनाको आधिकारिक ट्वीटर ह्याण्डलबाट केही तस्विरहरु पनि साझा गरिएको छ । जसमा हिउँमा ठूल्ठूला पाइलाको निशानहरु देखाइएको छ ।
एडीजीपीआईका अनुसार नेपालको मकालु बेस क्याम्पमा गत ९ अप्रिलमा यी तस्विरहरु खिचिएका हुन् । तस्विरमा देखिएका पाइलाको आकार ३२*१५ इन्च रहेको छ ।
भारतीय सेनाका अनुसार मकालु–वरुण राष्ट्रिय निकुञ्जमा यसअघि पनि यती देखिएको थियो ।
सेनाले सेयर गरेको तस्विरबारे सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । केहीले यस तस्विरबारे आश्चर्य व्यक्त गरेका छन् भने केहीले चुनावसँग जोडेर चुट्किला बनाइरहेका छन् ।
के हो यती ?
तिब्बत र नेपालको लोकप्रिय काल्पिनिक कथाका अनुसार एशियाको पवर्तीय क्षेत्रमा दैत्याकार बाँदरजस्तै देखिने जीव वस्छ, जसलाई यती भनिन्छ ।
वर्षौंदेखि मानिसहरुले यतीलाई देखेको दाबी पेश गर्दै आइरहेका छन् ।
सन् २०१३ मा अक्सफोर्ड विश्वविद्यालयको एक अध्ययनमा यती भालुकै एक उप–प्रजाती हुनसक्ने उल्लेख गरेको थियो ।
प्राध्यापक स्काइजले बीबीसीसँग कुरा गर्दै यतीको मिथकपछाडि कुनै वास्तविक जीव हुनसक्ने बताएका थिए ।
अमेरिकी जीववैज्ञानिक शार्लट लिन्डक्विस्टले यतीको अवशेष भनेर दाबी गरिएका वस्तुहरुको डिएनए परिक्षण गरेका थिए ।
यसमा हात, दाँतदेखि कपालसम्म रहेका थिए ।
जाँचको दौरान केही नमूना कुकुरको त केही आठ फरक–फरक प्रकारको भालुको निस्किएको थियो ।