१२ बैशाख, जनकपुरधाम ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा उसैपनि सार्वजनिक शौचालयको अभाव छ । सार्वजनिक शौचालयको अभावमा यहाँ आउने आगन्तुक खुला रूपमै शौच गर्न बाध्य हुन्छन् । सार्वजनिक शौचालय नभएकै कारण सर्वसाधारणसमेत सडकपेटीमै दिसा पिसाब गर्न बाध्य हुन्छन् ।
सरकारी निकायको बेवास्ताका कारण लाखौं खर्चेर निर्माण गरिएको शौचालय प्रयोगविहीन छ । यति मात्र होइन शौचालय नै बासस्थानका रूपमा परिणत भएको छ । सरसफाईको काम गर्ने एक परिवारले शौचालयलाई नै बासस्थलका रूपमा प्रयोग गर्दै आएका पाइएको छ ।
जनकपुरधाम–४ स्वर्गद्वारीनजिक चार वर्षअघि सो सार्वजनिक शौचालय निर्माण गरिएको थियो । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले डम्पिङ साइटका रूपमा प्रयोग हुँदै आएको सार्वजनिक जग्गालाई व्यवस्थापन गर्ने उद्देश्यले ३१ लाख खर्चेर सुविधा सम्पन्न शौचालय निर्माण गरेको थियो । तर, निर्माण भएको चार वर्ष बितिसक्दा पनि सो शौचालय शौचका लागि प्रयोगमा आएन । त्यसपछि शौचालय बासस्थानका रूपमा प्रयोग हुँदै आइरहेको छ । राजधानी दैनिकबाट ।