१० बैशाख, दमक ।
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको कार्यशैलीको तीव्र आलोचना गरेका छन् । दमकमा पार्टीको क्षेत्रीय कार्यालय उद्घाटन गर्न आउने क्रममा सोमबार प्रेस युनियन झापाले चन्द्रगढी विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले प्रधानमन्त्रीको आलोचना गरेका हुन् । देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताए ।
सरकारका पछिल्ला गतिविधिले अधिनायकवादको संकेत गरेको उनको भनाइ थियो । प्रेसमाथि नियन्त्रण गर्ने विधेयक बनेकोप्रति उनले आपत्ति जनाए । सरकार प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै आलोचनासमेत गरे । प्रेस स्वतन्त्रताविना प्रजातन्त्र सुदृढ नहुने देउवाको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले आफ्नै मन्त्रीहरूलाई विश्वास नगरेको देउवाको आरोप थियो । ‘आफ्नै क्याबिनेटका मान्छेलाई विश्वास नगरी आफैँ सेना परिचालन गर्ने भनेका छन्, आफ्नै मान्छेलाई विश्वास गर्दैनन्, अनि देशलाई कसरी गर्छन् रु,’ देउवाले भने, ‘राष्ट्रिय अनुसन्धान विभाग आफ्नै हातमा छ, राजस्व विभाग आफ्नै हातमा छ, यिनले गृहमन्त्रीलाई नै विश्वास गर्दैनन् ।’ देउवाले वर्तमान सरकारले कर धेरै लगाएको भन्दै असन्तुष्टि व्यक्त गरे । नयाँ पत्रिकाबाट ।