Logo

लुक्ला विमान दुर्घटनाको छानबिन गर्न समिति गठन



Spread the love

२ बैशाख, काठमाण्डौ ।
सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा आइतबार बिहान भएको समिट एयरको विमान दुर्घटनाको बारेमा सरकारले छानबिन गर्न एक समिति गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए।

समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डङ्गोल सदस्य रहेका छन् भने समितिको सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन्

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा रहेको लुक्ला विमानस्थलमा आइतबार बिहान ९ः२२ बजेको समयमा भएको त्यस दुर्घटनामा दुई प्रहरीसहित तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

लुक्लाबाट रामेछाप उड्ने क्रममा रहेको ‘नाइन एन एएमएच’ कलसाइन विमान धावनमार्गबाट चिप्लिएर पार्किङ गरी राखिएको मनाङ एयरको ‘नाइनएन एएलसी’ कल साइन हेलिकप्टरसँग ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी समिट एयरका सहायक पाइलट सुजित ढुङ्गाना, प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको थियो । घटनामा समिट एयरका पाइलट रवीनाथ रोकाय र मनाङ एयरको हेलिकप्टरका पाइलट चेतबहादुर सामान्य उपचारपश्चात् घर फर्किसकेको मन्त्रालयले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्