Logo

बारामा भएको क्षति हावाहुरीले नभएर टोर्नाडोले…



Spread the love

बारा, पर्सामा आइतबार साँझ आएको भुमरीसहितको हावाहुरी ‘टोर्नाडो’ भएको पुष्टि भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो पटक यस्तो हावाहुरी ‘टोर्नाडो’ आएको पुष्टि गरेको हो ।

भुमरीको रुपमा आउने यस्तो हुरीले छोएको ठाउँको हरेक भौतिक वस्तु उखेलिने जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक समेत रहनुभएका श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘टोर्नाडो आउँदा आकाशबाट बादलसहितको वायु सोली आकारमा धर्तीमा केन्द्रित हुन्छ, जहाँ छुन्छ, त्यहाँ पूरै विनाश गर्छ, बाहिर बादलको घेरा र भित्र हावाको न्यून चाप हुने हुँदा यसले छोएका हरेक भौतिक वस्तु उखेलिन्छन् ।’

सुरुमा आँधीबेहरी भनेर पूर्वानुमान गरिए पनि त्यसभित्र पनि उच्चतम जोखिम भएको मौसम प्रणाली विकास हुँदा टोर्नाडो बन्ने श्रेष्ठ बताउनुहुन्छ । टोर्नाडो आउँदा सुख्खा हुरीसहितको बादल र पानी भएको बादल गर्जदैँ चट्याङ, असिना पर्ने अनि सँगै कडा आँधीको सिर्जना हुन्छ । त्यसले फैलिएको आकारबाट खुम्चिदै तल सानो क्षेत्रमा कडा भार सिर्जना गर्ने उहाँले बताउनुभयो ।

उहाँले भनेजस्तै बारामा आएको हुरीले स्थानीयका पक्की घरसँगै रूख, ठूला सवारी साधन, भौतिक संरचना सबै उखेल्ने, उडाउने र सोहोरेर लगेको छ । भू–उपग्रहबाट लिइएका तस्बिरको अध्ययन गर्दैगर्दा सेन्टिनियल नामको भूउपग्रहले त्यस दिन नेपालको बारा, पर्सामा विपत्तिको भोलिपल्ट १० मिटर उचाइबाट खिचेका तस्बिरको अध्ययनपश्चात ‘टोर्नाडो’ नेपालमा आएको पुष्टि भएको उहाँले बताउनुभयो ।

फेटा गाउँपालिका क्षेत्र भएर करिब ३० किलोमिटरको क्षेत्रलाई यसले बाटो बनाएर अघि बढेको तस्बिरमा प्रस्ट देखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार, यात्रामा जे भेट्यो, सबै क्षतिग्रस्त बनाएको पनि देखिएको थियो । विज्ञ श्रेष्ठका अनुसार अझ बढी स्पष्ट देखिन अमेरिकाको भूउपग्रहले खिचेको तस्बिर किन्नुपर्ने र त्यसका लागि प्रकृया सुरु गरेर पत्र पनि पठाएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्