२२ चैत, काठमाडाैँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै सनराइजर्स हैदराबाद अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । हैदराबादको यो तेस्रो जित हो ।
१ सय ३० रनको लक्ष्य पछ्याएको हैदराबादले ९ बल अगाडी ५ विकेट गुमाउँदै पुरा गर्यो । हैदरावादको जितमा ओपनर जोनी बेयरस्टोले २८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ४८ रनमा आउट भए । विजय शंकर १६ तथा डेविड वार्नर, मनिष पान्डे र दिपक हुड्डाले समान १० रन जोडे । मोहम्मद नाबी १७ र युसुफ पठान ९ रनमा अविजित रहे ।
दिल्लीका लागि सन्दीप लामिछाने, अक्षर पटेल, ईशान्त शर्मा, कागीसो रबाडा र राहुल टेवाटियाले समान १ विकेट लिए । सन्दीपले ४ ओभरमा ३२ रन खर्चेका थिए ।
त्यस अघि घरेलु मैदान फिरोज शाह कोटलामा टस हारेर ब्याटिङ थालेको दिल्लीले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस ऐरले ४१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाए ।
ओपनर पृथ्वी शालाई तेस्रो ओभरको दोस्रो बलमा भुवनेश्वर कुमारले ११ रनमा बोल्ड आउट गरे । अर्का ओपनर शिखर धवनलाई छैटौं ओभरको अन्तिम बलमा मोहम्मोद नाबीले १२ रनमा सन्दीप शर्माबाट क्याच आउट गराए । १० औं ओभरको पहिलो बलमा नाबीले ऋषभ पन्तलाई ५ रनमा क्याच आउट गराएपछि दिल्ली दवावमा परेको थियो ।
दिल्लीको एकतर्फबाट निरन्तर विकेट गुम्दा अर्को तफबाट रन जोड्न खोजि रहेका कप्तान ऐरलाई १७ ओभरको पहिलो बलमा राशिद खानले बोल्ड आउट गरेपछि दिल्ली सस्तैमा समेटिएको हो । दिल्लीका अन्य क्रिस मोरिस १७, कोलिन इनग्राम र राहुल तेवतिया समान ५, कागीसो रबाडा ३ रनमा आउट हुँदा अक्षर पेटल २३ रनमा अविजित रहे ।
हैदरावादका मोहम्मद नाबीले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमार र सिद्धार्थ कौलले २ तथा राशिद खान र सन्दीप शर्माको नाममा एक विकेट रह्यो ।
यो सँगै हैदरावाद ४ खेलमा ३ मा जित र १ मा हारका साथ ६ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । किंग्स इलाभेन पन्जाव र चेन्नई सुपर किंग्स क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् । चेन्नई र पन्जावले समान ४ खेलमा ३ मा जित र १ मा हार ब्योहोरेका छन् ।