
१७ चैत, बारा । बारा र पर्सा जिल्लामा आइतबार साझ आएको भीषण हावाहुरीमा परेर कम्तीमा २५ जनाको मृत्यु भएको छ भने करिब ४०० घाइते भएका छन् ।
हावाहुरीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएर धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिएका छन् । हावाहुरीले सबैभन्दा ठूलो क्षति बाराको भरवलीयामा भएको छ । हावाहुरीको प्रभाव भलुही, पुरैनिया परसौन, बिजवनिया देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धारमा सुरक्षाकर्मी परिचालन भइसकेको जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले उद्दारमा जुट्न र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।
बारा/पर्सा जिल्लाको केही स्थानमा अहिले सॉझ आएको डरलाग्दो ऑधि/हुरीबाट धनजनको अकल्पनीय क्षति भएको जानकारीमा आएको छ । यस आकस्मिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दछु। उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भईसकेका छन्।उद्दारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएकोछ।— K P Sharma Oli (@kpsharmaoli) March 31, 2019
हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारीमा आएकोछ। मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दछु। र, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
— K P Sharma Oli (@kpsharmaoli) March 31, 2019
भोली बिहानबाट आवस्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा
“नाईट भिजन” हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।
सुरक्षाकर्मी संगै उद्दारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु।— K P Sharma Oli (@kpsharmaoli) March 31, 2019
मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।