काठमाडौँको प्रज्ञा भवनमा मङ्गलवार “काठमाडौँ युथ कनक्लेभ-२०७५” भव्यताका साथ सम्पन्न भएको छ । केएमसी नेटवर्क अन्तर्गत रहेका ब्याचलर कलेजहरू युनिभर्सल कलेज, न्यु समिट कलेज, अपोलो इन्टरनेशनल कलेज, काठमाडौँ मोडेल कलेज तथा हिमालयन कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कनक्लेभबाट युवालाई नेतृत्व, व्यवस्थापन र औद्योगिक सीपमा मद्दत पुगेको कनक्लेभका टिम लिडर आदित्य सापकोटाले सल्लेरी खबरलाई बताए । कनक्लेभमा देशमा ख्याति प्राप्त, अनुभवी तथा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरूले युवा विद्यार्थीलाई अभिप्रेरित र दिशानिर्देश गरेका थिए ।
कार्यक्रममा युवा नेता योगेश भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो भने नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार असगर अलि, राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, युट्युबर सिसन बानियाँ, मिस नेपाल २०१८ शृङ्खला खतिवडा, ज्योति ग्रुपका निर्देशक तथा स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योति, हाँस्य कलाकार सन्दीप क्षेत्रीलगायतले प्रस्तुति राखेका थिए ।
कनक्लेभमा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले ‘नेशनल युनिटी थ्रु स्पोर्ट्स’ अर्थात् ‘खेलकुदबाट राष्ट्रिय एकता’ शीर्षकमा आफ्नो अनुभव कथा प्रस्तुत गरेका थिए भने ज्योति ग्रुपका डाइरेक्टर सौरभ ज्योतीले ‘द रोल अफ युथ इन बिजनेस वर्ल्ड’ अर्थात् ‘बिजनेस दुनियाँमा युवाको भूमिका’ शीर्षकमा आफ्नो अनुभव कथा प्रस्तुत गरेका थिए । उनीहरूको प्रस्तुतिबाट कार्यक्रममा सहभागी बिधार्थीहरु निकै उत्साहित भएका थिए ।
मिस नेपाल २०१८ श्रृङ्खला खतिवडाले ‘व्यक्तित्व विकास’ शीर्षकमा आफ्नो वक्तव्य प्रस्तुति राखेकी थिइन् । लोकप्रिय युट्युबर सिसन बानियाँले ‘प्यासन टू प्रोफेसन : थिङ्किङ आउट अफ द बक्स’ शीर्षकमा आफ्नो सफलताको कथा प्रस्तुत गरेका थिए । अहिलेका चर्चित स्ट्यान्ड अप कमेडियन सन्दिप क्षेत्रीले ‘स्ट्यान्डिङ आउट विदिन मास’ शीर्षकमा आफ्नो अनुभव कथा प्रस्तुत गरेका थिए भने युवाहरूका ढुकढुकी गायक स्वप्न सुमनले आफ्नो साङ्गीतिक प्रस्तुति दिएका थिए ।
कनक्लेभमा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कालाई देशको गौरवलाई विश्वसामु पुर्याउन गरेको योगदानको कदरस्वरुप एक लाख नगद रुपैयाँ सहित सम्मान गरिएको थियो । यसलाई निरन्तरता दिएर देशलाई उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई प्रत्येक वर्ष सम्मान गरिने न्यु समिट कलेजका प्रोग्राम डाइरेक्टर चोकराज दवाडीले सल्लेरी खबरलाई जानकारी दिए ।
कार्यक्रम भायनेट, ई-सेवा, अभियान, नेसटल, काठमाडौँ लर्निङ्ग सेन्टर, एनएमबी बैङ्क, कोकाकोला, गोल्डस्टार, टेक्नोभाइटिभ सोलुसनको सहयोगमा सहयोग रहेको थियो। कार्यक्रमको अफिसियल मिडिया पार्टनर अन्नपूर्ण पोस्ट र सल्लेरी खबर रहेका थिए भने कार्यक्रमको प्रत्यक्ष प्रसारण न्युज २४ टेलिभिजनबाट भएको थियो । कार्यक्रममा करिब ३ हजार युवायुवतीहरूको सहभागी रहेको थियो । बिहान १० बजे देखि सुरु भएको कार्यक्रम बेलुकी ४ बजे सम्पन्न भएको थियो ।
यो वर्ष उपत्यका भित्रका युवा विद्यार्थी माझ गरेको कार्यक्रम अर्को वर्ष राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरमा गर्ने काठमाडौँ युथ कनक्लेभका संयोजक राजु टण्डनले सल्लेरी खबरलाई जानकारी दिए ।
काठमाडौँ युथ कनक्लेभसँग सम्बन्धित समाचार
युवा विद्यार्थीलाई अभिप्रेरित गर्न युथ कनक्लेभ गर्दैछौं : राजु टण्डन (अन्तर्वार्ता)
चर्चित सेलिब्रेटीहरुको साथमा युथ कनक्लेभ हुँदै, पारस खड्कालाई १ लाख सहित सम्मान
युथ कनक्लेभ : युट्युबर सिसन बानियाँले ‘प्यासन देखी प्रोफेसन सम्म’ शिर्षकमा बोल्दै
युथ कनक्लेभ : कप्तान पारस खड्काले ‘खेलकुदबाट राष्ट्रिय एकता’ शिर्षकमा बोल्दै
युथ कनक्लेभ : सौरभ ज्योतीले ‘बिजनेस दुनियाँमा युवाको भुमिका’ शिर्षकमा बोल्दै
युथ कनक्लेभ : कमेडियन सन्दिप क्षेत्रीले उनी भित्रको ‘सिरियस सन्दिप’ बारे बोल्दै
युथ कनक्लेभ : युवाहरूका ढुकढुकी स्वप्न सुमनले सांगीतिक प्रस्तुती दिदैँ