Logo

दशौं राष्ट्रिय सिभिल प्रदर्शनी भव्यताका साथ सम्पन्न (फोटो फिचर)



Spread the love

सिभिल इन्जिनियरिङ विद्यार्थी समाज सेस (नेपाल) को आयोजना एवम् सिभिल इन्जिनियरिङ विभाग, केन्द्रीय क्याम्पस पुल्चोकसँगको सहकार्यमा माघ २४, २५ र २६ गते गरी तीन दिनसम्म सञ्चालित ‘दशौं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता’ आज भव्यताका साथ सम्पन्न भएको छ ।

“दिगो र समुचित विकासको गति, नवीन इन्जिनियरिङ्ग पद्धति”को मुल नारा सहित यस वर्षको प्रर्दशनी पनि केन्द्रीय क्याम्पस, पुल्चोकको प्राङ्गणमा सञ्चालन गरिएको सेसका सचिब अभिनय अधिकारीले बताए । मौसमी प्रतिकुलताका बाबजुद पनि प्रदर्शनी सुन्दर ढंगबाट सम्पन्न भएको उनी बताउँछन् ।

यस प्रदर्शनीमा विभिन्न विधामा सिभिल इन्जिनियरिङसँग सम्बन्धित सामग्री, नयाँ प्रविधि तथा सोचहरूलाई मुख्य आकर्षणको रूपमा प्रस्तुत गरिएको थियो ।

प्रदर्शनीमा विभिन्न सरकारी, गैर–सरकारी तथा निर्माण व्यवसायी संस्थाहरू लगायत थुप्रै परामर्शदाताहरूद्वारा आ-आफ्नो विषयसँग सम्बन्धित सामग्रीहरू देखाइएको थियो । शहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत भएका घरको डिजाइन, नमुना र त्यसका लागि आवश्यक पर्ने प्रविधिहरू पनि आकर्षणका रूपमा रहे ।

यसबाहेक सडक विभाग, खानेपानी, सरसफाइ तथा ढल निकास विभाग, सिँचाइ विभाग र स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागबाट पनि सामग्रीहरू प्रदर्शनीमा राखिएका थिए । विद्यार्थी स्तरमा इन्जिनियरिङसँग सम्बन्धित नमुना मोडल प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, सेमिनार, सफ्टवेयर प्रतियोगिता, कंक्रिट मिक्स डिजाइन प्रतियोगिता, फोटोग्राफी, चित्रकला प्रतियोगिता, कविता प्रतियोगिता, विविध मनोरञ्जन लगायत अन्य थुप्रै जानकारीमूलक कार्यक्रमहरू प्रदर्शनीका आकर्षण बने ।

वि.सं. २०६३ सालदेखि सुरू भएको यस प्रदर्शनी २०६३, ०६४, ०६५, ०६६, ०६८, ०७०, ०७२, ०७३ र ०७४ गरी नौं पटक सफलतापूर्वक सम्पन्न भइसकेको छ भने यसपालि गरेर अब १० वटा प्रदर्शनीको सफल रुपमा समापन भएको छ ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विज्ञ तथा विशिष्ट व्यक्तित्वहरूबाट थुप्रै जानकारीमूलक सामग्रीहरू प्रस्तुत भएको सेस नेपाल १३ औं कार्यकारिणी समितीका अध्यक्ष सुरेश चौलागाई उल्लेख गर्छन् ।

प्रदर्शनीमा सहभागी हुने विद्यार्थीहरूले विभिन्न स्थानमा पुगेर सर्वसाधारणसँग प्रत्यक्ष भेटघाटका कार्यक्रम गर्ने, विभिन्न नाटक तथा नाच प्रस्तुत गर्ने समेत गरेका थिए ।

प्रदर्शनीमा झन्डै २० भन्दा बढि कलेजको सहभागिता रहेको थियो भने २५ भन्दा बढि मोडेलहरू प्रस्तुत गरिएको थियो ।

प्रदर्शनीको समापन एक कार्यक्रमका बिच सेस अध्यक्ष सुरेश चौलागाइको सभापतित्व एवम् क्याम्पस प्रमुख प्रा.डा. गोकर्ण बहादुर मोत्राको प्रमुख आतिथ्यतामा गरिएको थियो । जसमा विभिन्न प्रतियोगितामा विजय हासिल गरेका सयौं प्रतियोगीहरूलाई प्रमाणपत्र एवम् पुरस्कार पनि वितरण गरिएको थियो ।

सल्लेरी खबरका लागि सल्लेरी खबरका फोटो जर्नालिस्ट जे.आर. मार्शल र आशिष वलीले खिचेका प्रदर्शनी समापनका केही दृश्यहरू :

 

 

 

 

 

000

000

प्रतिक्रिया दिनुहोस्