Logo

अबरेष्ट : बैकल्पिक जनावर !



Spread the love

  • सुन्दर न्यौपाने

एकादेशमा एउटा जङ्गलमा थुप्रै भेडाहरू थिए। भेडाहरू विभिन्न उमेर, लिङ्ग, रङ्गका थिए। कोही युवा त कोही बुढा, कोही गोरा त कोही काला। उमेर, लिङ्ग, रङ्गका भिन्नताले गाउँमा भेदभाव, अशान्ति देखिन्थ्यो। अवस्था निकै दयनीय भए पछि भगवानले भेडाहरूबिच मेलमिलाप बढाउन र शान्ति ल्याउन, एउटा भिन्न किसिमको जनावर धर्तीमा पठाउने निर्णय गरेछन्। जनावरको नाम अबरेष्ट राखिएछ, अबरेष्ट अरू भन्दा चलाख र बुद्धिमान तर कम बल भएको थियो।

अबरेष्टले धर्तीको शक्तिशाली जनावर सिंहलाई आफ्नो मित्र बनाउने निर्णय गरेछ। जङ्गलको शक्तिशाली जनवारलाई आफ्नो मित्र बनाउनु सजिलो काम पक्कै थिएन। दिन रात मेहेनत गरेर अबरेस्ट, सिंहलाई आफ्नो मित्र बनाउन सफल भएछ। उसले सिंहलाई आफूले, भेड़ाहरुमा शान्ति ल्याउन खोजेको कुरा भनेछ र सहयोग गर्न आग्रह गरेछ। सुरुमा सहयोग गर्न नमानेको सिंह एक्कासि आफ्नो नयाँ मित्रलाई सहयोग गर्न राजी भएछ। दुबैजनाले एउटा समूह बनाएर काम गर्ने निर्णय गरेछन्। उक्त समूह बनाउने जिम्मा अबरेस्टले सिंहलाई दिएछ। समूहमा कुकुर, गधा, मछ्छड र सापलाई राख्ने निर्णय सिंहले गरेछ।

अबरेष्टले जङ्गलको बुद्धिमान मानिने हात्तीलाई पनि समूहमा राख्ने निर्णय गरेछ। समूह बनाउने बित्तिकै अबरेष्टले आफ्नो अग्रतामा काम सुरु गरेछ। कम बोल्ने तर धेरै काम गर्ने अबरेष्टको जङ्गलभरी लोकप्रियता छाएछ। सबैले सिंह र अबरेष्टलाई सम्मान गर्न थालेछन्। भेडाहरू सुख र शान्तिले बस्न थालेछन्।

अबरेष्ट र सिंहको मित्रता देखेर जङ्गलको छट्टु मानिने बाँदरलाई डाहा लागेछ र उसले सिंह र अबरेष्टको मित्रता तोड्दिने बिचार गरेछ। सिंह र उसको समूहको मित्र अनि गाउँको भेडाहरूलाई भड्काउन थालेछ। कुकुरलाई अबरेष्टको कामको विरोध गर्न लगाएछ, गधालाई आफ्नो काम ढिलो गर्न, साँप र मछछ्डलाई अबरेष्टको साथमा रहेका साथी र भेडाहरूलाई डसेर दुःख दिन लगाएछ। यो सब काम गर्न बाँदरले सिंहको भरपुर प्रयोग गरेछ। उसले सिंहको मित्रहरू प्रयोग गरेर भेडाहरूलाई दुःख दिन थालेछ र अबरेष्टलाई विश्वास नगर्न धम्की दिदैं हिडेंछ।

समूहको सबै मित्र र जङ्गलको सबै भेडाहरू अबरेष्टको विरुद्ध जान थालेछन्। आफ्नै साथी सिंहले विश्वास नगरे पछि अबरेस्टले आफ्नो सपना तुहिँदै गरेको देखेछ र आफ्नो पक्षमा केही भेडा र हात्तीहरू मात्र भएकोले अबरेस्टले केही गर्न सकेनछ। अबरेष्टले आफ्नो काम गर्न नसकेकाले हिमालयको कुनै गुफामा बस्ने निर्णय गरेछ। विश्वास नगर्ने र अरूको कुरा मात्र सुनेर हिड्ने मित्रको सहायताले सफलता हासिल नहुने ठुलो शिक्षा अबरेष्टले पाएछ। बुढापाकाको भनाई अनुसार अबरेस्ट अझै पनि भेडाहरूको हितमा केही गर्न सकिन्छ कि भनेर लोकमा नगई धर्तीमा योजना बुनेर बसेको छ रे। सिंह भने अरूको कुरा सुनेर आफ्नो मित्र गुमाएकोमा अझै दुःखी छ रे। भनिन्छ भेडाहरू अझै पनि त्यो जङ्गलमा सुखी छैनन् रे। यही घटना पछि हात्ती शान्त, बाँदर अरूलाई भड्काउने र काम बिगार्ने, कुकुरले अरूको कामको भुकेर विरोध गर्ने, गधाले आफ्नो काम ढिलो गर्ने अनि साँप र मछछ्डले अरूलाई सताउने बानी बसेको रे।

प्रतिक्रिया दिनुहोस्