Logo

‘सालको पातको टपरी हुने’ले पायो दुई करोड ‘भ्युअर्स’



Spread the love

लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ ‘म्युजिक भिडियो’ युट्युबमा दुई करोड पटक हेरिएको छ । गत असोजमा युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत दर्शकबीच लोकप्रिय भएर चार महीना नपुग्दै दुई करोड बढी दर्शक पाएको हो ।

नवराज पन्तको शब्द, वसन्त थापाको सङ्गीत रहेको गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर छ । यिनै चार सर्जक, कलाकार मिलेर विसं २०६८ मा ल्याएको लोकदोहोरी गीत ‘डाँडै फुर्के सल्लो’ पनि त्यसताका निकै चर्चित बनेको थियो ।

‘सालको पातको टपरी हुनी’ छोटो अवधिमा युट्युबमा धेरै हेरिएको लोकदोहोरी गीत हो । युट्युब बाहिर पनि गीतको लोकप्रियता उत्तिकै बढेको छ । रचना, स्वर र सङ्गीत तीनै पक्ष स्रोताले निकै रुचाएका छन् । ‘म्युजिक भिडियो’ ले युट्युबमा दर्शक तानेको छ । सरल शब्द, मौलिक भाखा र सुरिलो स्वर गीतको विशेषता हो । “उत्साहित छौँ, राम्रो प्रतिक्रिया आएको छ”, गायक विश्वकर्माले भन्नुभयो । गीत राम्रो बनेको लागे पनि यति धेरै चर्चा पाउला भनेर नसोचेको उहाँको भनाइ थियो । “शब्द, सङ्गीत, स्वरसँगै अभिनय र भिडियो निर्देशन पनि उत्कृष्ट रहेकोले दर्शक स्रोताको मन जितेको छ”, विश्वकर्माले भन्नुभयो ।

‘भिडियो’ मा नायिका मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा र सङ्गीतकार थापाको अभिनय छ । निर्देशन शिव विकले गर्नुभएको छ । “छोटो अवधिमै गीत करोड क्लबमा प्रवेश ग¥यो” सङ्गीतकार थापाले भन्नुभयो, “नेपाली लोकसङ्गीतका लागि यो सुखद् खबर हो, नेपाली दर्शक स्रोतको मायाले हामी उत्साहित बनेका छौ ।”

हाल अमेरिकामा रहनुभएका गीतकार नवराज पन्तका अनुसार मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढाव गीतको रचनागर्भ हो । “गीतमा प्रेममा सिर्जित अविश्वास र त्यसको भोगाइको कथा छ” पन्तले भन्नुभयो, “सबैले शब्दलाई रुचाउनुभएको छ, खुशी छु ।”

सङ्गीतकार थापाले आफू बेलायत भ्रमणमा हुँदा नयाँ गीत मागेपछि पन्तले ‘सालको पातको टपरी’ लेख्नुएको थियो । “कम्पनीमा काम गर्दै थिएँ, एक्कासि गीत फु¥र्यो” पन्तले भन्नुभयो, “कागजको चिर्कटोमा शब्द उतारेँ ।” झ्याउरे लयमा ठेट शब्द र मन छुने स्वरले गीतको लोकप्रियता बढेको हो । अभ्यास डिजिटल म्युजिक प्रालिद्वारा निर्मित गीत ‘वसन्त थापा’ नामको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्