स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेका बार्सिलोना र एट्लेटिको मड्रिड विजयी भएका छन् । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा डि भिगोलाई हरायो भने एट्लेटिको मड्रिडले स्पान्योलमाथि विजय प्राप्त गर्याे ।
बार्साको मैदान क्याम्प नोउमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउनका लागि डेम्बेले र मेस्सीले एक एक गोल गरे । १०औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । लियोनल मेस्सीको प्रहार सेल्टाका गोलकिपर रुवेन ब्लांकोले पञ्च गरेका थिए । तर त्यो रिबाउण्ड बललाई डेम्बेलेले गोलमा परिणत गरे ।
४५औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफ अघि २–० को अग्रता दिलाए । उनले जोर्दी अल्बाको पासमा गोल गरेका थिए । बाँकी समयमा गोल हुन नसक्दा बार्सिलोना विजयी भयो । जीतसँगै बार्सिलोनाले ३७ अंक बनाएको छ । सेल्टा डि भिगो भने २१ अंक सहित १०औं स्थानमा छ । एट्लेटिको मड्रिड स्पान्योलमाथि १–० को कठीन जित निकाल्दै दोस्रो स्थानमा कायम छ ।
आफ्नै मैदानमा भएको खेलमा एट्लेटिकोले जीत हात पार्न पेनाल्टीमा गोल गरेको थियो । पहिलो हाफ गोलरहित तबनेको खेलको ५६औं मिनेटमा पाएको पेनाल्टीलाई एन्ट्वान ग्रिजम्यानले गोल गर्दै एट्लेटिकोलाई जित दिलाए । स्पान्योल २१ अंक सहित १३औं स्थानमा छ । ला लिगा अन्तर्गत भएका अन्य खेलमा रियल बेटिस र इबार तथा एथ्लेटिक क्लब र रियल भालाडोलिडवीचको दुबै खेल १–१ गोलको बराबरीमा सकियो ।