Logo

मोनोरेलको डीपीआर सम्झौता आज हुँदै



Spread the love

काठमाडौँ र ललितपुर महानगरपालिकामा प्रस्तावित मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने भएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मोनोरेल निर्माण तथा सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने सम्बन्धी सम्झौता बुधबार हुने जानकारी दिए।


उनले भने “मोनोरेलको डीपीआर तयार गर्ने सम्बन्धी सम्झौता गर्न चाइना रेल्वे कम्पनी लिमिटेड (सीआरसी, व्यूरो २५)का पदाधिकारीहरू नेपाल आइसकेका छन ।उनीहरूसँग बुधबार सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।” सम्झौता भएको छ महिनाभित्र डीपीआर तयार हुने जानकारी उनले दिए। सीआरसीसी चीनको सरकारी स्वामित्वको निर्माण कम्पनी हो ।

काठमाडौँ र ललितपुरमा मोनोरेल सञ्चालनका लागि यसअघि नै सम्भाव्यता अध्ययन भइसकेको तथा अध्ययनले मोनोरेल सञ्चालन सम्भव रहेको देखाएको थियो । त्यसैगरी, अध्ययनले चक्रपथमा मोनोरेल निर्माणको कुल लागत एक खर्ब १६ अर्ब रुपियाँ लाग्ने तथा चक्रपथको सडकमाथिको कुल २७ दशमलब ५ किलोमिटरमा २१ स्थानमा स्टेशन रहने गरी निर्माण सम्पन्न गर्न सकिने देखाएको थियो ।

यसअघि, काठमाडौँ साइमेक्सले इन्क प्रालिले समेत काठमाडौं र ललितपुर महानगरपालिकामा मोनोरेलको सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको थियो । सो अध्ययनका लागि काठमाडौं महानगरपालिका र सो कम्पनीबीच गत वर्ष सम्झौता भएको थियो । साइमेक्स कम्पनीलेले चिनियाँ बिवाईडी कम्पनीसँग मिलेर सम्भाव्यता अध्ययन गरेको थियो । चार महिना लगाएर तयार पारिएको सो सम्भाव्यता अध्ययन जर्मनी र बेलायतका विज्ञहरूको सलग्नतामा भएको थियो ।

राजधानीको ट्राफिक अस्तव्यस्तता हटाउन, सवारी दुर्घटना कम गर्न, ध्वनि प्रदूषण न्यून गर्न तथा हावाको शुद्धता बढाउन, पेट्रोलियम पदार्थको परनिर्भरता कम गर्न, समग्र उत्पादनमा बृद्धि ल्याउन मोनोरेलको आवश्यकता प्रतिवेदनमा औंल्याइएको थियो । विद्युतीय मोनोरेलमा १० किलोमीटरसम्म ब्याट्री ब्याकअप रहेको हुन्छ । आधुनिक प्रविधिबाट बनाइएको यो मनोरेल चीनका विभिन्न सहरमा प्रयोगमा आइसकेको छ । एउटा डिब्बामा दुई सय जनासम्मले यात्रा गर्ने क्षमता भएको यस मनोरेल प्रतिघण्टा ३० देखि ८० किलोमिटरसम्म गुड्ने कुरा साइमेक्स इंकले जनाएको छ । विद्युतबाट चल्ने मोनोरेलको निर्माण मेट्रो रेलभन्दा समय र लागतको हिसाबले तीन गुणा सस्तो पर्छ ।

प्रतिक्रिया दिनुहोस्