युवा अधिकारक्रमी तथा सामाजिक अभियन्ता चिरञ्जीवी न्यौपानेले श्रमिक अधिकार र युवा उद्दमशिलताको क्षेत्रमा बृहत् अवधारणा सहित काम गर्न लागेको बताएका छन् । परिवर्तनको लागि युवा अभियान नेपालका केन्द्रीय सचिव समेत रहेका न्यौपानेले राजधानीमा सम्पन्न अभियानको अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो योजना सार्वजनिक गरेका हुन ।
देश राजनैतिक परिवर्तनको चक्रबाट आर्थिक समृद्धिको चक्रमा प्रवेश गरेको भन्दै न्यौपानेले यो अवस्थामा श्रम क्षेत्र चलायमान हुने भएकोले श्रमिकको हक अधिकारमा सरोकारवाला तथा अधिकारक्रमिहरुबाट विशेष ध्यान पुर्याउनु पर्ने आवश्यकता औँल्याए । समृद्धिको निम्ति श्रम, सिप, पुजी र उद्दमशिलताको अधिकतम परिचालन हुनुपर्छ : न्यौपानेले भने, “त्यसको निम्ति सरकार र नागरिक दुवै कटिबद्ध भए मात्र समृद्धि यात्रा सहज हुन्छ ।”
समृद्धि सपना सम्पूर्ण नेपालीहरूको विगत लामो समयदेखिको सपना भएकोले यसको निम्ति नागरिक पनि सृजनशील ढङ्गले अगाडी बढनुपर्नेमा जोड दिए । श्रम अधिकार र युवा जागरणमा सक्रिय न्यौपानेले केन्द्रीय प्रादेशिक र स्थानीय सरकारसँग समन्वय गरी नयाँ परियोजना सञ्चालनको तयारी थालेको बताइएको छ। त्यसको तयारीको निम्ति अभियन्ता न्यौपाने लगायतको टोली विभिन्न राजनैतिक तथा मन्त्रालयगत छलफलमा सक्रिय रहेको छ ।