राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको अवसरमा महाअष्टमीका दिन बुधबार बिहान पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन्।
काभ्रपलानञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले जेठी छोरी उषाकिरण भण्डारीकासाथ करिब १५ मिनेट पूजाअर्चना गरेकी थिइन्। बिहान ९ : ३५ बजे भगवती मन्दिर पुगेकी थिइन्। राष्ट्रपति भएपछि उनले मन्दिरमा पूजाअर्चना गरेको यो दोस्रोपटक हो। यस्तै राष्ट्रपति भण्डारीसँगै नागरिक उड्ययन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पनि सहभागीता थियो।
राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका संयोजक उद्धव केसी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, नेपाली सेनाका २६ नम्बर बाहिनीपति मिनध्वज खड्का, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जू, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल तथा अन्य पदाधिकारीले स्वागत गरेका थिए।
अवसरमा मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रजिअ राउतले मन्दिरको संरक्षण र पुनःनिर्माण सम्पन्न गर्न स्थानीयबाट आएका मागलाई राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए। राष्ट्रपति भण्डारीले भनिन्, ‘यस विषयमा म सरकारसँग कुरा गर्छु।’ मन्दिर पुनःनिर्माण गर्न पुरातत्व विभागले दुई करोड ५२ लाख रुपैयाँ छुट्याएको छ। (रासस)