२४ असोज, काठमाडौं- बहुचर्चित जयनगर–जनकपुर रेल सेवा छिट्टै नै पुनः सञ्चालनमा आउने भएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले मङ्सिरसम्ममा जयनगर–जनकपुर रेल सेवा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको जानकारी दिए। रेल सेवा सञ्चालनका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए ।
रेल सेवा सञ्चालनका लागि भारतसँग रेल भाडामा लिने जानकारी समेत महानिर्देशक मिश्रले दिए । तीन वा दुईवटा रेल भाडामा लिनेबारे छलफल भइरहेको जानकारी उनले दिए । रेल खरिद प्रक्रिया लामो रहेकाले तत्काल भाडामा नै लिएर सञ्चालन गरिने उनले बताए ।
जयनगर–जनकपुर रेल सेवा छिट्टै नै सञ्चालनमा आउने तयारी भइरहेको बताइए पनि अन्तरदेशीय उक्त रेल सेवा कुन ‘मोडेल’ मा सञ्चालन गर्ने भन्नेबारे भने अझसम्म कुनै टुङ्गो लाग्न सकेको छैन । महानिर्देशक मिश्रले रेल सेवा सञ्चालनबारे ‘वेट लिज’ लगायत विभिन्न ‘मोडेल’ बारे नेपाल र भारतबीच सरकारी स्तरमा छलफल भइरहेको जानकारी दिए।
जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म निर्माण गरिएको ३५ किलोमिटर लामो उक्त रेल सञ्चालनका लागि तयार भएको नेटवर्क ब्रोडगेज हो । जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र जनकपुरबाट कुर्थासम्मको ६ किलोमिटर गरी उक्त रेलमार्ग ३५ किलोमिटरको छ ।